प्रदेश नं. २ बाट एमालेका ५५ जनाको नाम सिफारिस

प्रदेश नं. २ बाट एमालेका ५५ जनाको नाम सिफारिस


राजविराज । राष्ट्रिय सभा सदस्यका लागि नेकपा (एमाले) प्रदेश सगठन कमिटी २ ले ५५ जनाको नाम सिफारिश गरेको छ । उम्मेदवार चयन गरी सिफारिश गर्न राजविराजमा विहीबार बसेको एमाले प्रदेश संगठन कमिटीको बैठकले प्रदेश नम्बर दुईबाट ५५ जनाको नाम सिफारिश गर्ने निर्णय गरेको हो ।

प्रदेश नम्बर २ बाट निर्वाचित हुने आठ जना राष्ट्रिय सभा सदस्यका लागि तीन महिला, तीन अन्य, एक दलित र अपाङ्ग वा अल्पसंख्यकबाट एकजना निर्वाचित हुनेछन् । आठ जनाका लागि एमाले केन्द्रले एक बराबर तीन जनामा नबढ्ने गरी २४ जनाको नाम सिफारिश गर्न निर्देशन जारी गरेको थियो ।

बैठकमा सप्तरीबाहेक अन्य जिल्लाबाट धेरैजनाको नाम आएपछि छलफल गरी ५५ जनाको नाम पठाउने निर्णय गरिएको कमिटिका संयोजक एवं स्थायी समिति सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

मण्डलका अनुसार सप्तरीबाट सुमनराज प्याकुरेलको नाम मात्र सिफारिश भएको छ भने सिरहाबाट रामचन्द्र यादव, जया घिमिरेसहित १३ जना, धनुषाबाट रत्नेश्वर गोइत, यदुवंश झा, भोला साहसहित १२ जना, पर्साबाट प्रभु हजरा, निर्मला देवकोटासहित ११ जनाको नाम सिफारिश भएको छ ।

यसैगरी रौतहटबाट रोहित पासवान, बिना साहसहित पाँच जना, सर्लाहीबाट कमलादेवी महतो, रेवती पन्त, सुरेन्द्र लामासहित पाँच जना, बाराबाट दिनेशकुमार राय, पुरुषोत्तम पौडेलसहित चार जना, महोत्तरीबाट रामदयाल मण्डलसहित चार जनाको नाम सिफारिश भएको छ ।

सिफारिश गरिएकाहरुबाट एमालेले छनौट गरी एमाले र माओवादीको कार्यदल बैठकले अन्तिम रुप दिने बताइएको छ ।

यसैगरी राष्ट्रिय सभा निर्वाचनको तयारीका लागि एमाओवादीसँग समन्वय गरी प्रदेश नम्बर २ मा मतदाताहरु बीच भेला राखिने निर्णय भएको कमिटीका सहसंयोजक नागेन्द्र चौधरीले बताए । सर्लाही, धनुषा र महोत्तरीको मतदाताहरुको भेला माघ ११ गते जनकपुरमा, बारा, पर्सा र रौतहटको माघ १२ गते बारामा तथा सप्तरी र सिरहाको् माघ १३ गते लहानमा भेला हुने उनले बताए ।

वैठकले तराई मधेसमा शितलहरले मृत्यु हुनेहरुप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट गर्दै द्रुत गतिका साथ राहत वितरण गर्न सरकारसँग माग गरेको छ । वैठकमा सहभागी प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई एमाले सप्तरीले खादा र माला पहि¥याएर सम्मान गरेको थियो ।

संयोजक मण्डलको अध्यक्षतमा बसेको बैठकले गत मंसिर १२ गते मृत्यु भएका महोत्तरी जिल्ला कमिटिका अध्यक्ष जामुन मण्डलप्रति एक मिनेट मौन धारण गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा प्रदेश नम्बर दुईका आठै जिल्लाबाट ३५ जनाको सहभागिता रहेको थियो ।

हेमशंकर सिंह