निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ ।
आयोगले नेकपा एमालेलाई सूर्य, नेपाली काङग्रेसलाई रुख, नेकपा माओवादी केन्द्रलाई गोलाकारभित्र हसियाँ हथौडा, संघीय समाजवादी फोरम नेपाललाई हातले समातेको मशाल र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिन्ह प्रदान गरेको छ ।
यस्तै, नेपाल सघीय समाजवादी पार्टी (बस) नेपाल मजदुर किसान पार्टी (मादल) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (दापसहितको खुकुरी) बहुजन शक्ति पार्टी (जग) नेपाल परिवार दल ( साँचो्) राष्ट्रिय जनमोर्चाले (गिलास) नेपाल नौलो जनवादी पार्टी (चुच्चोले चिट्ठी बोकेको परेवा) राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातन्त्रिक (गोलाकारभित्र हलो) विवेकशील साझा (तराजु) नयाँ शक्ति पार्टी नेपाल (देव्रे आँखा) नेपाल दलित पार्टी (इनार) राष्ट्रिय जप्रजातन्त्र पार्टी (गाई) बहुजन समाज पार्टी नेपाल (जिराफ) गान्धीवादी पार्टी नेपाल (भेडा) नेपाली जनता दल (गोरु गाडाको चक्का पाङग्रो) र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उम्मेदवार (षटकोण) चुनाव चिन्हमा प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगको सूचनामा जनाइएको छ ।
राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ । उक्त निर्वाचनमा २०५६ जना मतदाताले भाग लिने छन् । राष्ट्रिय सभा सदस्यमा प्रत्येक प्रदेशबाट ८ जना संख्यामा सदस्यको छनौट हुने छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था रहेको छ । ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा ३ जना सदस्यको राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रिय सभा सघीय संसदको माथिल्लो सदन हो ।
प्रतिक्रिया