जिल्ला अस्पतालको आधुनिक भवन बन्दै

जिल्ला अस्पतालको आधुनिक भवन बन्दै


जीर्ण अवस्थामा रहेको भवनबाट स्वास्थ्य सेवा लिन बाध्य रोल्पाका बिरामी अब भने आधुनिक सुविधा सम्पन्न भवनबाट स्वास्थ्य सुविधा लिन पाउने भएका छन् ।

जिल्ला अस्पताल, रोल्पाको नयाँ भवन एक महिना अगाडि बन्न थालेपछि यस्तो सुविधासहित उपचार गर्न पाउने आशा पलाएको हो । २०४१ सालमा निर्माण गरिएको टिनको छाना रहेको सो भवन जीर्ण रहेसँगै बिरामीले त्रासपूर्ण अवस्थामा उपचार गराइरहेका थिए ।

हाल निर्माणाधीन नयाँ भवन बनेपछि अस्पतालले ५० श्ययाको सेवा दिने जिल्ला अस्पताल सञ्चालक समितिका अध्यक्ष टीकाकुमारी बुढा थापाले जानकारी दिए । श्यया थपसँगै विशेषज्ञ सेवा पनि उपलब्ध हुने भएकाले सामान्य शल्यक्रियाका लागिसमेत जिल्ला बाहिर जानुपर्ने समस्याबाट जिल्लावासी मुक्त हुने थापाले बताए ।

पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता रहेको सो भवनको लागत भ्याटसहित करिब रु ३५ करोड र भ्याटबाहेकको रकम करिब रु २९ करोडको रहेको अध्यक्ष थापाले बताए ।

हाल विशेषज्ञ डाक्टर नभएको जिल्ला अस्पतालमा नयाँ भवन बनेसँगै विशेषज्ञ सेवा प्रदान गरिने जिल्ला अस्पतालका सिनियर अहेव कुलबहादुर डाँगीले जानकारी दिए । श्यया थपसँगै प्रविधि र जनशक्ति पनि थपिने भएकाले जिल्ला अस्पतालको सेवा पनि विस्तार हुने डाँगीले बताए ।

हाल १५ श्ययाको सेवा दिइरहेको जिल्ला अस्पताल, रोल्पाको भवन २०४१ सालमा निर्माण गरिएको थियो । भवन पुरानो हुनुका साथै छाना तथा ढोकासमेत गलेका र भित्ता समेत प्वाल परेका छन् । राससका अनुसार उक्त भवनमा उपचार गराउन आउने बिरामीले असुरक्षित महसुस गर्दै आएका थिए ।