नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः दिनमा यातायात रोकिने

नारायणगढ-मुग्लिन सडकखण्डमा पुनः दिनमा यातायात रोकिने


नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ । पछिल्ला दिनमा रातको समयमा सवारी रोकेर काम गर्ने गरिएको छ । गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको थियो । तर, जुन गतिले काम भएको छ, यसआधारमा फेरि पनि तोकिएको समयमा सडक मर्मत सम्पन्न नहुने निश्चित मानिएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन सक्ने भन्दै अब दिनमा पनि सडक बन्द गरिने निर्णय गरिएको हो । जसअनुसार बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने छ ।

गतवर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए । यसअघि परीक्षणका रुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो ।

रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडकखण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ । जसका कारण दिनको काम पनि प्रभावित भएको छ ।

ज्ञात रहोस्, सो सडकको घुमाउने, १६ किलो र चेपाङडाँडामा भित्तो काट्ने काम बाँकी रहेको छ । घुमाउनेमा २०० मिटर, चेपाङडाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ भने हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४ दशमलव ७ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जनाएको छ ।