शनिबार काठमाडौँबाट हवाईजहाज चढेर नेपालगञ्जसम्म पुगेका नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा बाक्लो हुस्सुका कारण जहाज अवतरण हुन नसकेपछि काठमाडौँ फर्केर फेरि हेलिकप्टरबाट दाङ पुगे । उनी यसरी दोहोर्याएर दाङ पुग्नुको कारण थियो प्रदेश नम्बर ५ को अस्थायी केन्द्र बुटवललाई तोकिनु । यस सरकारी निर्णयको विरोधमा दाङ यतिबेला आन्दोलित छ । यही आन्दोलनलाई उर्जा दिन महरा आकाशको दोहोरो यात्रा गरेर दाङ पुगेका हुन् ।
दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभो सदस्यमा निर्वाचित कृष्णबहादुर महराल प्रादेशिक राजधानी तोक्ने सरकारी निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने दाबी गरेका छन् । शनिबार दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्ष समितिले थालेको बृहत् सभालाई सम्बोधन गर्दै नेता महराले आन्दोलनको स्वरुप भने परिवर्तन गर्नुपर्ने धारणा राखे ।
उनले भने, “निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहन्छ तर यसको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यक छ । बन्द नगरेर विरोधसभा, ज्ञापनपत्र बुझाउने, कोणसभा गर्ने र निरन्तर दबाब दिनुपर्छ ।’’
राष्ट्रियसभाको निर्वाचन दाङमा नै तोकिएको र सो निर्वाचनलाई लक्षित गरी आन्दोलनको स्वरुप परिवर्तन हुनुपर्ने र ५ नं प्रदेशका सभा सदस्यलाई स्वागत गर्नुपर्ने उनको भनाइ छ ।
ज्ञात रहोस्, लगातार पाँच दिनदेखिको बन्दका कारण दाङको जनजीवन प्रभावित बनेको छ ।

तस्बिर रासस
प्रतिक्रिया