‘गोप्य’ र ‘अतिगोप्य’ छाप गैरकानुनी

‘गोप्य’ र ‘अतिगोप्य’ छाप गैरकानुनी


राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले प्रदेश तहमा पनि स्वतन्त्र सूचना आयोग गठन हुनुपर्ने बताउनुभएको छ । इलामको सदरमुकाममा सञ्चारकर्मीसँग कुरा गर्दै बाँस्कोटाले सङ्घीय संरचनामा गएका अन्य मुलुकमा प्रादेशिक तहको सूचना आयोगको व्यवस्था भएकाले हाम्रो पनि मुलुक सङ्घीय संरचना गएपछि आयोग गठन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

बाँस्कोटाले सरकारी निकायले आफ्नो कागजातमा अहिले पनि ‘गोप्य’ र ‘अतिगोप्य’ भनेर छाप लगाउनु गैरकानुनी भएको बताउँदै सबै सरकारी कर्मचारीलाई गोपनीयताको शपथ गराउन आवश्यक नरहेको धारणा व्यक्त गर्नुभयो । “गोपनीयताको शपथ लिएपछि सूचना लुकाउने पद्धतिको विकास भएकाले सबैलाई शपथ गराउन पर्दैन”, उहाँले भन्नुभयो ।

उहाँले जिल्लाका कार्यालय प्रमुख र सूचना अधिकारीलाई आफूसँग भएको सूचना उपलब्ध गराउन निर्देशन दिनुभयो । निमित्त प्रमुख जिल्ला अधिकारी सफल पोर्तेलको अध्यक्षतामा भएको कार्यक्रममा सूचनाको हकसम्बन्धी ऐन कार्यान्वयनका लागि ६ बुँदे प्रतिबद्धतापत्रमा हस्ताक्षर गरिएको छ ।