भीरबाट लडेका प्रहरीलाई दैवले ठगेपछि…

भीरबाट लडेका प्रहरीलाई दैवले ठगेपछि…


दार्चुलामा आइतबार साँझ भीरबाट लडेर गम्भीर घाइते भएका प्रहरी जवान शेरबहादुर महतारामाथि अर्को दुर्भाग्य आइलागेको छ । राजधानी ल्याई उपचार गराउनका लागि उनलाई लिन गएको नेपाली सेनाको हेलिकोप्टर डडेल्धुराबाट घाइते महतारा बोकेर उड्नेवित्तिकै समस्या उत्पन्न भई अवतरित हुनुपर्ने परिस्थिति निम्तियो ।

समस्या देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन् । प्रमुख सेनानी कुशलकुमार गुरुङ र कोपाइलट क्याप्टेन राकेश खड्काले सो हेलिकप्टर सुझबुझका साथ आकस्मिक अवतरण गराए पनि घाइते प्रहरी जवानको अवस्था भने थप गम्भीर बन्न पुगेको बताइएको छ । डडेल्धुराबाट नेपालगञ्जका लागि उडेको उक्त ०४५ इक्विरेल हेलिकप्टर डोटीको शिखर नगरपालिका–४ मुडभाराको मरकट्टेमा अवतरण गरिएको हो ।

बताइएअनुसार आइतबार साँझ दार्चुलामा भीरबाट लडेर घाइते भएका प्रहरी जवान शेरबहादुर महतारालाई उपक्षेत्रीय अस्पताल डडेल्धुराले थप उपचारका लागि काठमाडौँ सिफारिश गरेको थियो । त्यसपछि प्रहरीले सेनासँग समन्वय गरेर नेपालगञ्जसम्मका लागि सो हेलिकोप्टरको व्यवस्था मिलाएको थियो ।