फागुन १० देखि १३ गतेसम्म कृषि यान्त्रीकरण प्रदर्शनी

फागुन १० देखि १३ गतेसम्म कृषि यान्त्रीकरण प्रदर्शनी


आगामी फागुनमा कृषि यान्त्रीकरण प्रदर्शनीको आयोजना गरिने भएको छ । नेपालको कृषि र पशुपालन क्षेत्रलाई थप आधुनिकिकरण तथा व्यवसायिकिरण बनाउन प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।

मुलुकको कृषि तथा पशुपालन क्षेत्रलाई थप आधुनिकिकरण र व्यवसायिकिरण गर्ने उद्धेश्यले कृषि यान्त्रीकरण प्रदर्शनीको आयोजना गरिने भएको छ । आगामी फागुन १० देखि १३ गतेसम्म धरान उपमहानगरपालिकाको पुर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा तेस्रो ‘राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७४ सुनसरी’ हुने भएको हो ।

‘कृषि यन्त्र र प्रविधिको उपयोग, व्यवसायिक कृषि विकासको आधार’ भन्ने नारासहित कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि इन्जिनियरिङ निर्देशनालय, नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा प्रर्दशनी आयोजना गर्न लागेको हो ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले प्रदर्शनीमा कृषि र पशुपालन क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विकास भएका नयाँ प्रविधिहरु राखिने जानकारी दिए ।

आयोजकका अनुसार प्रदर्शनीमा आधुनिक कृषि यन्त्र, आधुनिक सिंचाई प्रविधि, गुणस्तरीय बिउ बिजन, पोल्ट्री, डेरी, माछापालन, पुष्प व्यवसाय लगायत सम्पूर्ण कृषि, पशुपालन, प्रशोधन र बजारीकरण सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा काम गरिरहेका संस्थाहरु सहभागि हुनेछन् । प्रर्दशनीमा विभिन्न २० वटा मुलुकका २ हजारभन्दाबढी प्रकारका कृषि मेशिनरी, प्रविधि तथा औजारहरुको प्रदर्शनी गरिनेछ ।