पुरानै मापदण्डमा सोलारको पीपीए गर्न निर्देशन

पुरानै मापदण्डमा सोलारको पीपीए गर्न निर्देशन


उर्जा मन्त्रालयले पुरानै मापदण्डमा सोलारको पीपीए गर्न प्राधिकरणलाई निर्देशन दिएको छ । ऊर्जा मन्त्रालयले प्रसारण लाइनमा जोड्न मिल्ने गरी उत्पादन हुने सौर्य विद्युत् (ग्रिड कनेक्टेड सोलार) को पीपीए (विद्युत् खरिद सम्झौता) पुरानै मापदण्डमा गर्न विद्युत् प्राधिकरणलाई निर्देशन दिएको हो ।

पुरानो मापदण्डअनुसार पिपिए गर्दा सोलार आयोजना सञ्चालन अवधिभर प्राधिकरणलाई झन्डै साढे ५ अर्ब रुपैयाँ आर्थिक भार थपिने प्राधिकरण स्रोतले जनाएको छ ।

ऊर्जा मन्त्रालयले २०७२ फागुन ६ गते जारी गरेको ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक’ सम्बन्धी कार्ययोजनामा ग्रिड कनेक्टेड सोलारको पिपिए प्रतियुनिट ९ दशमलव ६१ रुपैयाँभन्दा नबढ्ने गरी गर्ने उल्लेख छ ।

मन्त्रालयले दुईभित्र रहेर सौर्य विद्युत् उत्पादनसम्बन्धी अर्को कार्यविधि जारी गर्यो । गत मंसिर ६ गते जारी भएको कार्यविधिमा ग्रिड कनेक्टेड सोलारको पीपीए दर प्रतियुनिट ७ दशमलव ३० रुपैयाँ तोकिएको छ । विद्युत् उत्पादन गर्न इच्छुक ९ कम्पनीले २१ ठाउँबाट वार्षिक १० करोड ४० लाख ६९ हजार ४ सय ९७ युनिट विद्युत् (६१ मेगावाट) प्राधिकरणलाई बेच्ने प्रस्ताव राखेका छन् ।

यसरी विद्युत् बेच्न प्रतियुनिट ८ दशमलव ३५ रुपैयाँदेखि ९ दशमलव ४५ रुपैयाँ प्रस्ताव गरेका थिए । मन्त्रालयले पछिल्लो कार्याविधिमा थोकमा विद्युत् किन्न नयाँ दर (प्रतियुनिट ७ दशमलव ३० रुपैयाँ) तोक्यो । तर, पुरानो प्रक्रियामा अघि बढाइसकेका कम्पनीसँग त्यही दरमा पीपीए गर्न प्राधिकरणलाई निर्देशन दिएको छ ।