‘कम्युनिष्टको नेतृत्व क्रान्तिकारी माओवादीले गर्छ’

‘कम्युनिष्टको नेतृत्व क्रान्तिकारी माओवादीले गर्छ’


नेकपा(माओवादी क्रान्तिकारी)का नेता सिपी गजुरेलले सबै तहका निर्वाचन सम्पन्न भए तापनि राजनीतिक रुपमा नेपाल अझै पनि जटिल राजनीतिक संक्रमणकालमा रहेको बताउनुभएको छ ।

क्रान्तिकारी पत्रकार महासंघले आज आयोजना गरेको पत्रकार भेटघाटमा नेता गजुरेलले प्रदेश र केन्द्रको सरकार गठन हुन नसकेको तथा सरकार पनि कामचलाउ मात्र भएर अझै पनि बहुमतीय सरकारजस्तै काम गरिरहेको आरोप लगाउनुभयो ।

विसं २०५२ देखि आफूहरुले बन्दुक उठाउनुको अर्थ गणतन्त्र मात्र प्राप्त गर्नु नभएर जनगणतन्त्रसम्म पुग्नका लागि भए तापनि आज केही कम्युनिष्टले सबै लक्ष्य र उद्देश्यलाई वाम गठबन्धनका नाममा दक्षिणपन्थीतर्फ संशोधन गर्दै लगेको विचार व्यक्त गर्नुभयो ।

“वैचारिक रुपमा नेपाली काँग्रेस २०१५ सालभन्दा अगाडि बढ्न सकेको छैन, नेकपा (एमाले) र माओवादी केन्द्रले सच्चा कम्युनिष्टको नारा दिएर वाम गठबन्धनको नाममा दक्षिणपन्थतर्फ कम्युनिष्ट आन्दोलनलाई लगेका कारण देशमा अझै संघर्ष बाँकी छ”, उहाँले भन्नुभयो ।

अब कम्युनिष्टको नेतृत्व आफूहरुले गर्ने तर हिजोको जस्तो जनयुद्ध नभई वैचारिक मोर्चा र संघर्षबाट आफूहरुले नेपाली जनतामा दक्षिणपन्थको भण्डाफोर गर्दै नेपाललाई सच्चा समाजवादतर्फ डो¥याउने जिकिर उहाँले गर्नुभयो ।