स्थानीय तह सञ्चालन गर्न नमूना कानून तयार

स्थानीय तह सञ्चालन गर्न नमूना कानून तयार


स्थानीय तह सञ्चालनका लागि सघाउ पुऱ्याउने उद्देश्यले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ३० वटा नमूना कानून तयार पारेको छ । देशभरिका ७५३ स्थानीय तह सञ्चालनका लागि ३० नमूना कानून तयार पारिएको मन्त्रालयका संघीय मामिला महाशाखाले जनाएको छ । तत्काल स्थानीय तह सञ्चालनका लागि नमूना कानून बनाइएको महाशाखाको भनाई छ ।

संविधानको अनुसूची–८ बमोजिम स्थानीय तहका २२ वटा कामका आधारमा स्थानीय तहको कार्य सञ्चालनमा सघाउ पुग्ने उद्देश्यले ‘स्थानीय तहको विनियोजन ऐन’, ‘स्थानीय तहको आर्थिक ऐन’, ‘महानगर/उपमहानगर/नगर/गाउँपालिका कार्यपालिका कार्यविभाजन नियमावली’, ‘गाउँ/नगरपालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेका कानून’, ‘स्थानीय तहको सरकारी ऐन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरणसम्बन्धी कानून’, ‘स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन’ जस्ता नमूना कानून बनाइएका हुन् ।

महाशाखाले नमूना कानून बनाएर दिएको, स्थानीय तहले तिनै कानूनका आधारमा आफ्नो कार्यसञ्चालन गरेको र उनीहरुले अन्य विज्ञ राखेर नयाँ कानून बनाउन आवश्यक नभएको जनाएको छ ।

मन्त्रालयका सहायक प्रवक्ता जानुका सुवेदीले प्रदेश सरकार बनेपछि अन्य कानून पनि बनाइने जानकारी दिँदै केही काम प्रदेश सरकारसँग स्थानीय तहले गर्नुपर्ने भएकाले प्रदेश सरकार बनेपछि थप कानून बनाउन आवश्यक पर्ने बताइन् ।