उम्मेदवार छान्नुअघि राप्रपाको यस्तो छ चाल

उम्मेदवार छान्नुअघि राप्रपाको यस्तो छ चाल


यही माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनमा आफ्नो दलका तर्फबाट उम्मेदवार बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैसँग छलफल गर्ने भएको छ । पार्टी अध्यक्ष कमल थापाको सभापतित्वमा आज (मंगलबार) पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले निर्वाचनमा अधिकतम लाभ उठाउने रणनीति अख्तियार गर्ने अवधारणाका साथ कांग्रेस र एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।

यसका लागि राप्रपाले नेताहरु सुशील श्रेष्ठ, कुन्तीकुमारी शाही, विक्रमबहादुर थापा र गीताभक्त जोशी रहेको वार्ता समिति गठन गरेको छ । पार्टी प्रवक्ता भुवन पाठकले जनाएअनुसार छलफलपछि मात्र पार्टीले कुनै एउटा दलसँग सहकार्य गरी दलकातर्फबाट उम्मेदवारको नाम सार्वजनिक गर्ने छ । बुधबार मध्याह्नभित्र उम्मेदवारको टुंगो लगाएर उम्मेदवारी मनोनयन गराइने छ । निर्वाचनमा जुन दलसँग समन्वय गर्दा अधिकतम उम्मेदवारलाई जिताउने सम्भावना हुन्छ सोही दललाई राप्रपाले सहयोग गर्ने प्रवक्ता पाठकले जनाए ।