– विजय दमासे
निजी क्षेत्रमा प्रतिष्ठित दुई ठूला संस्थाबीचको विवाद चर्किंदै गएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल चेम्बर अफ कमर्सबीच साङ्गठनिक संरचनालाई लिएर देखिएको विवाद तीव्र बन्दै गएको हो ।
चेम्बरले आफ्नो संरचना महासङ्घजस्तै रूपान्तरण गरेर समानान्तर साङ्गठनिक संरचना तयार गरेको उद्योग वाणिज्य महासङ्घ पक्षधर बताउँछन् भने चेम्बरका पदाधिकारीहरू महासङ्घले अनावश्यक बखेडा झिकेको दाबी गर्छन् । दुई संस्थाबीच देखिएको द्वन्द्वमा उद्योग वाणिज्य महासङ्घले पत्र लेखेरै चेम्बरसँग स्पष्टीकरणसमेत सोधेको छ । चेम्बर महासङ्घको संस्थागत सदस्यका रूपमा मानिन्छ । महासङ्घनिकट स्रोतले भन्यो, ‘संस्थागत सदस्य भएका आधारमा हामीले महासङ्घमा किन रूपान्तरण भएको हो भनेर स्पष्टीकरण सोधेका हौँ ।’
चेम्बरले चित्तबुझ्दो जवाफ नदिए सदस्यता खारेज गर्ने योजना महासङ्घको रहेको बुझिएको छ । महासङ्घले राष्ट्रिय निर्देशन बोर्ड ऐन २०१८ अनुसार एउटै प्रकृतिको व्यावसायिक सङ्गठन देशव्यापी भनेर स्वीकार गरेपछि त्यस्तै प्रकृतिको सङ्गठन स्वीकृत नगर्ने प्रावधानविपरीत किन रूपान्तरण गरेको भन्दै चेम्बरलाई स्पष्टीकरण सोधेको जनाइएको छ । ऐनको दफा ३ को उपदफा (६) मा, कुनै खास वर्गीय तथा व्यावसायिक सङ्गठन नेपाल सरकारले आफैँले खडा गर्न÷गराउन खोजेको रहेछ वा कुनै खास वर्गीय तथा व्यावसायिक सङ्गठन देशव्यापी हो भनी नेपाल सरकारले स्वीकार गरिसकेको रहेछ भने एउटै वर्ग वा व्यवसायको एकभन्दा बढी त्यस्तो सङ्गठनहरू खडा गर्न नेपाल सरकारले स्वीकृति दिनेछैन भन्ने उल्लेख छ । महासङ्घ ऐनको यही बुँदामा टेकेर अदालत जाने मनस्थितिमा छ ।
चेम्बर महासङ्घमा जाने निर्णय नसच्याएमा एफएनसीसीआई अदालतसमेत जाने महासङ्घका एक पदाधिकारीले बताए । व्यावसायिक सङ्गठनलाई कमजोर पार्ने काम भएकोले यसको विरुद्धमा अदालत जाने निष्कर्षमा आफूहरू पुगेको उनको भनाइ छ । स्पष्टीकरणसँगै व्यावसायिक सङ्गठनबीच विवाद सतहमा आएको बुझिन्छ ।
एक वर्षअघि एउटै मञ्चमा बसेर एकल एजेण्डा बनाएका निजी क्षेत्र फेरि विभाजित बनेको यस घटनाले प्रस्ट देखाउँछ । पुस ११ गतेको मन्त्रिपरिषद् निर्णयमार्फत चेम्बर महासङ्घमा रूपान्तरण भएको थियो । चेम्बरको ६७औँ वार्षिक साधारणसभामार्फत एफएनसीसीआईजस्तै साङ्गठनिक संरचना खडा गरेको थियो । चेम्बरले एफएनसीसीआईजस्तै वरिष्ठ, जिल्ला, वस्तुगत, उद्योग, वाणिज्य, द्विराष्ट्रिय र मानार्थ उपाध्यक्ष पद राखेको छ । चेम्बरले संरचना महासङ्घमा रूपान्तरण गरेको भन्दा पनि महासङ्घबाट बाहिरिएका व्यक्तिलाई ठाउँ दिएकोमा महासङ्घ संस्थापन पक्षको विशेष आपत्ति छ । महासङ्घको राजनीतिबाट बाहिरिएका भाष्करराज राजकर्णिकार, प्रमोद श्रेष्ठलगायतका व्यक्तिलाई चेम्बरले विशिष्ट स्थान दिएको छ ।
एफएनसीसीआईबाट बाहिरिएका व्यक्तिलाई विशिष्ट स्थान दिएर सङ्गठनलाई नै चुनौती दिने काम भएको महासङ्घको ठम्याइ छ । यता, चेम्बरले भने महासङ्घ जाने र नजाने चेम्बरको खुसीको कुरा रहेको बताएको छ । चेम्बरनिकट स्रोतले भन्यो, ‘महासङ्घमा जाने वा नजाने भन्ने हाम्रो खुसीको कुरा हो, हामीले महासङ्घ छोड्न पनि सक्छौँ बस्न पनि सक्छौँ । यो हाम्रो निर्णय हो ।’
चेम्बरले देशको संरचनाअनुसार आफूले साङ्गठनिक संरचना बनाएको चेम्बरको दाबी छ ।
प्रतिक्रिया