देशका सातमध्ये ६ वटा प्रदेशको सरकार वाम गठबन्धनले बनाउने स्थिति भएपछि एमाले र माओवादी नेताहरूबीच मुख्यमन्त्री र सभाध्यक्ष पद भागबन्डालाई लिएर तनाव पैदा भएको छ ।
माओवादीले ६ मध्ये दुई प्रदेशको मुख्यमन्त्री र तीन प्रदेश सभाको सभाध्यक्ष पदमा दाबी गरेको छ भने एमालेले माओवादीलाई प्रदेश नम्बर सातको मुख्यमन्त्री र दुई प्रदेश सभाको अध्यक्ष पद दिने सोच बनाएको छ ।
एमालेको तर्फबाट प्रदेश नम्बर एकमा शेरधन राई, प्रदेश तीनमा राजेन्द्रप्रसाद पाण्डे, चारमा पृथ्वी सुब्बा गुरुङ, पाँचमा शङ्कर पोखरेल र ६ मा यमलाल कँडेललाई मुख्यमन्त्री बनाउने योजना बनाएको बुझिएको छ । प्रदेश तीनमा मुख्यमन्त्रीको दाबेदार रहेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रदेश सभा अध्यक्ष बनाउने सोच बनेको बताइन्छ ।
प्रदेश चारको मुख्यमन्त्रीमा अहिले पृथ्वी सुब्बा गुरुङको चयन गरिए पनि आधा कार्यकालका लागि किरण गुरुङलाई मुख्यमन्त्री बनाउने योजनामा एमाले रहेको बुझिन्छ । दुई गुरुङबीच आलोपालो मुख्यमन्त्री बन्ने सहमति बनाउन खोजिएको छ । त्यस्तै, प्रदेश नम्बर ६ को मुख्यमन्त्रीका दाबेदार प्रकाश ज्वालालाई कसरी व्यवस्थापन गरिने हो सो भने स्पष्ट हुन सकेको छैन ।
प्रतिक्रिया