खानेपानी तथा सरसफाइमन्त्री महेन्द्र यादवले निजामती सेवा ऐनविपरीत रहस्यमयी ढङ्गबाट कर्मचारी सरुवा गरेका छन् । यादवले मंगलबार (माघ ९ गते) खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्रकुमार झालाई खानेपानी तथा ढल निकास विभागको वातावरण तथा सरसफाइ शाखामा अवधि नतोकी काजमा खटाएका छन् । उक्त शाखामा कार्यरत प्रेमकृष्ण श्रेष्ठलाई भने मन्त्रालयमा बिनाप्रयोजन काजमा तानिएको छ ।
निजामती सेवा ऐनअनुसार शाखा अधिकृतसम्मका कर्मचारीलाई विभागीय प्रमुख वा प्रथम श्रेणीका कर्मचारीले, द्वितीय श्रेणीका कर्मचारीलाई सचिवले र प्रथम श्रेणीका कर्मचारीलाई मन्त्रीले काज वा सरुवा गर्न सक्ने छन् । तर, काज सरुवा गर्दा अवधि र काम स्पष्ट रूपमा खुलाउनुपर्ने हुन्छ । त्यस्तै, कुनै पनि कार्यालय प्रमुखलाई काज सरुवा गर्न नसकिने व्यवस्था पनि ऐनले गरेको छ ।
तर, मन्त्री यादवले एकातिर सचिवको अधिकार क्षेत्रमा हस्तक्षेप गरेका छन् भने काजको अवधि र कारण पनि खुलाइएको छैन । झालाई ‘मौका दिने’ उद्देश्यले यसरी नियमविपरीत काज सरुवा गरेको बुझिएको छ ।
प्रतिक्रिया