धान थन्क्याउन आएकाहरू मलमूत्र थन्क्याउने ठाउँ बनाउँदै

धान थन्क्याउन आएकाहरू मलमूत्र थन्क्याउने ठाउँ बनाउँदै


– रेजिना गौतम (होकलबाढी) झापा

आफ्नो जग्गा–जमिन थातथलो केही छैन, छ त खाली श्रमको नाता छ, त्यही श्रमका लागि भारतीय भूमिबाट नेपालमा श्रम पोख्न आउँछन् उनीहरू । तराईमा प्रायः धान गोड्ने प्रचलन हुँदैन । त्यसैले धान रोप्ने र थन्क्याउने समयमा जनको आवश्यकता हुन्छ । त्यही समय उनीहरू सीमाक्षेत्रमा पर्ने नेपाली भूभागमा श्रम गर्न आउँछन् । त्यस्तै, श्रमका लागि दक्षिणी झापाका विभिन्न ठाउँमा भारतीय यतिबेला मजदुरी गर्दै छन् । अर्थात् धान थन्क्याउने काम गरिरहेका छन् ।
असोजको मध्यतिर नेपाल छिरेका उनीहरू धान काट्ने, थन्क्याउने र दाउनी गरेर र परालको पनि व्यवस्थापन भएपछि झन्डै फागुन अन्तिमतिर आफ्नो भूमि फर्कन्छन् ।

त्यही दैनिकीलाई निरन्तरता दिइरहेका छन् नसाद मियाँ, फरिद मियाँ र सान मियाँ । श्रीमती, काखे बालबच्चासहित साबिक महाभारा गाविस, हाल गौरीगञ्ज गाउँपालिका–१ होकलबाढी टोलमा ।

खाद्यान्न थन्क्याउन आएका यिनीहरू यतिबेला अन्न थन्क्याउने होइन, अन्न खाएर उत्पादन हुने मलमूत्र थन्क्याउने ठाउँ (चर्पी) बनाउन व्यस्त छन् । नसादले भने, ‘काम गर्न आएको त नि, ट्वाइलेट नबनाई काम गर्नै पाइँदैन रे ।’ सो बस्तीमा सिजनअनुसार काम गर्न आएकाहरू कङ्क्रिटयुक्त रिङ र प्यानको प्रयोग गरी पक्की चर्पी निर्माण गरिरहेका छन् । धान झार्ने कामलाई थाती राखेर चर्पी बनाउँदै गरेका फरिद मियाँले भने, ‘अब खोला–खेतमा जान नपाउँदा त खानभन्दा पहिले ट्वाइलेट पो चाहिँदो रहेछ ।’

काम गर्न मजदुर राख्नेहरूले घर बस्न दिने, तर चर्पी बनाउन नदिने पम्परागत सोचका कारण झापामा खुला दिसामुक्त अभियान चुनौती बन्दै गएका बेला होकला बस्तीका जग्गाधनी उदाहरणीय बनेका छन् । काम गर्न आउनेले मान्छे चिने पनि साहुको नाम÷थर÷ठेगाना चिन्दैनन् । साबिक महाभाराको कुनै पनि वडामा अर्काको जमिनमा बस्नेलाई चर्पी बनाउने जग्गाको समस्या नभएको स्थानीय राजभक्त सुनुवारले बताए । उनले भने, ‘बस्न दिएपछि चर्पी बनाउन पनि जमिन दिनुपर्छ भन्ने मानवताका नाताले जग्गाधनीहरू कन्भिन्स भएका छन् ।’ उनका अनुसार पित्दा र मधुहस्तालले मानवताका नाताले बस्न दिएका हुप्ना हस्दा र गंगाराम हस्दालाई पनि चर्पी बनाउन जग्गा दिएका छन् ।

साहुको जग्गामा कङ्क्रिटयुक्त चर्पी निर्माण गरिरहेका सान मियाँले भने, ‘पक्की ट्वाइलेट बनाइरहेछ त हामी फर्किंदा बोकेर लाँदैन, फेरि आउँदा यसैले भइहाल्छ त ।’

समस्यालाई सम्बोधन गर्दा सहज

महाभारामा थालनीका दिनमा समस्याका चाङ नभएका होइनन् । खुला दिसामुक्त अभियान अगाडि बढाउँदै लैजाँदा जुन समस्या जसले समाधान गर्नुपर्ने हो, उसैलाई जिम्मेवारी दिँदै जाँदा सहजै समाधान भएको अभियानकर्ताहरू बताउँछन् ।

साबिक महाभारालाई खुला दिसामुक्त बनाउने सो क्षेत्रमा सामाजिक अभियानकर्ता, जनप्रतिनिधिलगायत सबैको ध्यान त्यसै खिचिएको छ । अबको केही दिनमा साबिक महाभारालाई खुला दिसामुक्त बनाउन सकिने रफ्तारमा अभियान चलाइएको छ । शुरुमा कामदारका रूपमा आउने भारतीयको बस्ती भएका ठाउँमा शौचालय निर्माण चुनौती देखे पनि सबै कुरा बुझेपछि सहज भएको सहजकर्ता छत्रकला भण्डारीले बनाइन् । उनले भनिन्, ‘चर्पीका लागि जग्गा नदिने समस्याभन्दा पनि बुझाउन नसक्नुचाहिँ समस्या रहेछ ।’ उनले थपिन्, ‘बाढीबाट विस्थापित बनेर अर्काको जमिनमा बस्ने पनि धेरै छन्, तर, अब महाभारामा त्यो समस्या छैन, हामीले सबैसँग कुरा गरेका छौँ, चर्पी बनाउन पाउँदैन भन्ने कोही जग्गाधनी निस्कनु भएको छैन, त्यसैले रफ्तारमा काम अघि बढेको छ ।’
बाढी प्रभावित उक्त बस्तीका प्रायः नेपालीले थातथलो छोडिसकेका छन् । अन्यत्र गएर बाँच्न सक्ने आधार बनाउन नसकेका नगन्य नेपाली मात्र त्यहाँ बसोबास गर्दै आएको वडाध्यक्ष कात्तिकलाल राजवंशीले बताए । खेतीयोग्य जमिन प्रशस्त भएको सो ठाउँका जग्गाधनीले वर्षेनी भारतीय मजदुरलाई धान खेतीका लागि आउने मजदुरलक्षित फुसको छाना हाली घर (झुपडी) बनाइदिएका छन् ।

अभियान अगाडि बढेपछि मङ्सिरदेखि चर्पी बनाउने सिमेन्ट रिङको समस्या देखिए पनि विभिन्न निकायबाट रिङ बनाउने फर्मा सहयोग लिएर समस्या समाधान गरिएको बताउँछन् वडाध्यक्ष कात्तिकलाल राजवंशी । ‘खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र खुला दिसामुक्त अभियान सहजीकरणमा सहयोग गर्ने ग्लोबल स्यानिटेसन फन्ड कार्यक्रमबाट सगरमाथा सामुदायिक विकास केन्द्रले फर्मा सहयोग गरेपछि टोलटोलमा फर्मा लगेर रिङ बनाउन थालियो,’ उनले भने, ‘त्यसैले, अहिले रिङको समस्या समाधान हुँदै गएको छ ।’

सरसफाइ प्रवद्र्धन नै बन्यो पहिलो सवाल

त्यसो त सरसफाइलाई गति दिनका लागि अभियान तीव्र भएसँगै निर्वाचित जनप्रतिनिधिविरुद्ध नारा–जुलुस र कार्यालयमा तालाबन्दी गर्ने धम्की पनि आए । खुला दिसामुक्त अभियान सहजीकरण गर्ने सहजकर्तामाथि ‘बोल्न नजानेका’ र ‘मुख छोड्ने’ गरेको आरोपसमेत लाग्यो । राजनीतिक विचार र आस्थाका आधारमा विभिन्न बहाना गर्दै विरोधका स्वर सुनिए पनि सिङ्गै समुदाय सरसफाइ प्रवद्र्धनमा जुटेपछि विरोध गर्नेहरू मत्थर भएको महिला सदस्य जानुका गौतम बताउँछिन् । ‘अहिले त सरसफाइ सबैको मुखमा झुन्डिएको छ, पहिले समुदायलाई खुला दिसामुक्त गरेर मात्र अरू विकास निर्माणका काम थाल्ने हो,’ वडा कार्यकारी सदस्य भीमप्रसाद राजवंशीको भनाइ छ ।