‘प्रदेश नं. ५ विभाजन गर्ने षडयन्त्र असफल’

‘प्रदेश नं. ५ विभाजन गर्ने षडयन्त्र असफल’


– चन्द्रकान्त खनाल

एमालेका उपमहासचिव विष्णु पौडेलले प्रदेश नम्बर ५ को राजधानी स्थायी रूपले नै रुपन्देही हुने दाबी गरेका छन् । पछि प्रदेशसभाबाट राजधानी बदलेर दाङ तुल्याइने भनी कतिपय अभिव्यक्ति सुनिएको प्रति लक्षित हुँदै उनले त्यस्ता अभिव्यक्ति बेकार हुने र पाँच नम्बर प्रदेश विभाजन गर्ने षडयन्त्र असफल भएको खुलासा पनि गरे ।

जिल्लाको समग्र विकासका लागी केही ठुला आयोजना संचालनमा रहेको उल्लेख गर्दै नेता पौडेलले आर्थिक विकासमा त्यसले टेवा पुग्ने विश्वास व्यक्त गरे । अबको लक्ष्य मुलुकको आर्थिक समृद्वि र विकास भएको उनको धारणा छ ।

तिलोत्तमा व्यापार मेलाको समापन कार्यक्रममा बोल्दै पौडेलले उद्योगीहरुलाई लगानीमैत्री वातावरण आवश्यक रहेको र लगानीमैत्री वातावरण निर्माणका लागि आफू प्रतिबद्व रहेको वचन दिए । उनले उद्योग ब्यवसायको क्षेत्रमा रुपन्देही सम्भावित जिल्ला भएकाले सोही अनुसार विकास गर्नुपर्ने बताए ।

पूर्वअर्थमन्त्री समेत रहेका पौडेलले रुपन्देहीलाई उत्कृष्ट जिल्ला बनाउने गरी सबैको सहभागितामा विकास गर्नुपर्ने तर्क गर्दै जनताको चाहान अनुसार पांच नम्बर प्रदेशलाई नमुनाको रुपमा विकास गरिने बताए ।

मेलामा ३ लाख १० हजार दर्शकले अवलोलकन गरेको र करिव १८ करोड आर्थिक कारोवार भएको आयोजकहरुले बताएका छन् । व्यवसायिक दक्षता अभिवृद्वि र स्वरोजगार, सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार भन्ने नाराका साथ गत पुस २६ गतेदेखि मेला शुरु भएको थियो ।