सीमानामा तत्काल काँडेतार लगाउन वाम संगठनको माग

सीमानामा तत्काल काँडेतार लगाउन वाम संगठनको माग


प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च जमिन पनि मिच्न नदिने बताएका छन् । पर्साको छपकैयामा भारतीयले नेपाली भूमि मिचेको बिषयमा ध्यानाकर्षण गराउन गएका वामपन्थी दलनिकट विद्यार्थी नेताहरुसँग देउवाले नेपालको भूमी मिच्न नदिइने बताएका हुन् ।

विद्यार्थी संगठनले सीमांकनको आधारमा बनेको सीमा नक्सालाई पुनरावलोकन गरेर मुख्य पिलर, ऐतिहासिक मान्यता र स्थानीयले भोगचलन गर्दै आएको प्रमाणलाई आधार बनाउन सरकारलाई सुझाव दिएका छन् ।

सरकारलाई बुझाइएको १० बुँदे सुझावपत्रमा कालापानी र सुस्ता बाहेक सबैतिर सीमा विवाद सुल्झिएको सरकारी दाबी आधारहीन भएकाले सीमा विवादको समग्र समाधान खोज्न आग्रह गरिएको छ ।

सीमामा बनेका साना–ठूला ५७ वटा तटबन्धन अविलम्ब व्यवस्थित गर्न माग गर्दै विद्यार्थी संगठनले भारतीय पक्षले अतिक्रमण गरी बनाएका सबै संरचना भत्काएर दसगजा सुरक्षित गर्न सुझाव दिइएको छ ।

सुझावको ९ नम्बर बुँदामा भनिएको छ, ‘सीमा समस्याको दीर्घकालीन समाधानका लागि सिमानामा काँडेतार लगाउन आवश्यक छ ।’

विद्यार्थी संगठनहरुले स्थलगत निरीक्षणका क्रममा सीमा अतिक्रमणका विभिन्न घटना र तथ्य प्रस्तुत गर्दै सरकार गम्भीर बन्नुपर्ने बताएको अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

प्रधानमन्त्री देउवाले देशको भूमिको रक्षा गर्न सरकार सक्षम रहेको बताएका अखिल क्रान्तिकारीका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

अखिल अध्यक्ष नवीना लामा, अखिल क्रान्तिकारीका रञ्जित तामाङ लगायत बिद्यार्थी नेताहरुले स्थलगत भ्रमण पछिको रिर्पोट पेश गर्दै नेपाली भूमिको रक्षमा गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।