अब बन्ने नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध स्थापित गर्ने नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले बताएका छन् । राजधानीमा आयोजित साक्षात्कारका अवसरमा नेता ज्ञवालीले नेपालको राष्ट्रिय हितलाई ध्यानमा राखेर भारतसँग सम्बन्ध बढाइने बताउँदै भने, ‘भारतसँग हाम्रो पहिलेदेखि नै सम्बन्ध रहेको छ, विगतमा जे जति तीता कुरा भए, ती सबैलाई बिर्सी दुई देशबीच असल सम्बन्धको विकल्प छैन ।’
प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य ज्ञवालीले दुई देशबीचको खुला सीमानाको सदुपयोग गर्दै संवेदनशील तरिकाले अगाडि बढ्ने बताउँदै नेपालसँगको व्यवहारमा भारतले उदारता देखाउनुपर्ने तर्क गरे । पञ्चेश्वर दुई देशको साझा परियोजना बन्नुपर्ने उनको धारणा थियो ।
सोही कार्यक्रममा नेपाली काग्रेसका नेता डा. प्रकाशशरण महतले खुला सीमा भएकाले भारतसँग विशिष्ट सम्बन्ध भएको भन्दै दुवै देशले एकअर्काको संवेदनशीलतालाई बुझेर मात्र अगाडि बढ्नुपर्ने बताए ।
राजपाका नेता राजेन्द्र महतोले चाहिँ नेपाल र भारतबीचको सम्बन्धलाई आर्थिक सम्बन्धका रुपमा अगाडि बढाउनुपर्ने उल्लेख गरे ।
नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल र भारतबीच सामाजिक, राजनीतिक र आर्थिक सम्बन्ध रहेको बताउँदै थप सम्बन्ध बढाउन भारत तयार रहेको जानकारी दिए भने भारतका लागि नेपालका पूर्वराजदूत प्राडा लोकराज बरालले नेपाल र भारतबीच देखिएका समस्यालाई निराकरण गरेर अगाडि बढ्नुपर्ने बताए ।
प्रतिक्रिया