डेढ करोड लगानीमा रानीमहल बन्दै

डेढ करोड लगानीमा रानीमहल बन्दै


हलिउडमा प्रयोग गरिँदै आएका उपकरण प्रयोग गरेर नेपाली चलचित्र रानीमहल निर्माण हुने भएको छ । पाल्पामा रहेको राणाकालीन ऐहिासिक दरबार रानीमहलमा आधारित चलचित्र निर्माण हुन लागेको हो । त्रिकोणात्मक प्रेमकथामा आधारित ‘रानीमहल’ वेदप्रसाद भुसालको निर्माणमा हिमाल न्यौपानेले निर्देशन गर्ने बताइएको छ ।

स्वस्तिक फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने उक्त चलचित्रमा अति निकटका दुई साथीबीचमा एक युवतीको प्रवेश भएपछि उनीहरुको सम्बन्धमा आएको चिसोपनका साथै प्रेमी र प्रेमिकाबीच हुनुपर्ने निःस्वार्थ भावना र सहयोगका बारे सन्देश दिन खोजिएको निर्देशक न्यौपानेले जानकारी दिए ।

रानीमलमा नीर शाह, प्रशान्त ताम्राकार, शेष राणा, वर्षा सिवाकोटीका साथ नयाँ कलाकार आशिष अधिकारी, सहिल श्रेष्ठ, मानष्वी खरेल आदिले अभिनय गर्नेछन् भने चलचित्रको पटकथा दीपक पौडेलले तयार गरेका हुन् । स्वस्तिक फिल्मसका अध्यक्ष सुन्दर भुसालले जनाएअनुसार नेपाली मौलिकतामा बनाइने उक्त चलचित्रले प्रेम कथाका साथै प्रेमको प्रतीकका रुपमा रहेको पाल्पाको रानीमहलको ऐतिहासिक पक्षलाई उजागर गर्ने छ ।

‘हेलियम ८ के’ नामक क्यामराबाट छायांकन गरिने उक्त फिल्म करिब एक सातापछि पाल्पा, बुटवल, पोखरा, भैरहवा र काठमाडौँमा दृष्यांकन गरी दुई महिनाको समयावधिमा निर्माण सम्पन्न गरिने बताइएको छ । डेढ कराड निर्माण खर्च लाग्ने रानीमहलमा हलिउडमा प्रयोग हुँदै आएका क्यामरा तथा प्रविधिलाई पहिलोपटक नेपाली चलचित्रमा भित्र्याउन लागिएको आयोजकले दाबी गरेका छन् ।