-श्रीविक्रम भण्डारी
आखिर जे हुनु थियो त्यही भयो । लन्डन ओलम्पिक नेपालका लागि ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मात्रै बन्यो । वाइल्ड कार्ड पाएर लन्डन ओलम्पिकमा सहभागिता जनाउन पाएका नेपाली खेलाडीले त्यहाँ कुनै कमाल देखाउन सकेनन् । पौडी खेलाडी श्रेया धितालबाहेक कुनै पनि खेलाडीले राष्ट्रिय कीर्तिमानसमेत तोड्न सकेनन् । बाँकी चारजना खेलाडीले निराशाजनक प्रदर्शन गरे । ओलम्पिक खेलमा नेपालले पदक जित्ने कुरा कल्पनाबाहिर हो । र पनि, उनीहरूवाट राष्ट्रिय कीर्तिमान भङ्ग हुने आशा भने अवश्य गर्न सकिन्थ्यो । तर विडम्बना, यहाँ त्यस्तो केही भएन । अन्य चार खेलाडीले राष्ट्रिय कीर्तिमानको कुरा छोडौँ आफूले बनाएको कीर्तिमानसमेत तोड्न सकेनन् । उनीहरूको उपलब्धि भनेको ‘सहभागिता’मै आएर पूर्णविराम लाग्यो । जुन अहिले मुलुकको प्रतिष्ठाको विषयसमेत बन्न पुगेको छ ।
लन्डन ओलम्पिकमा एथलेटिक्स, पौडी र सुटिङ गरी तीन खेलमा पाँचजना खेलाडीले सहभागिता जनाएका थिए । जसमा एथलेटिक्सतर्फ तिलकराम थारू र प्रमिला रिजालले प्रतिस्पर्धा गरेका थिए । सय मिटर दौडमा प्रतिस्पर्धा गरेका तिलकराम थारूले आफ्नो व्यक्तिगत प्रदर्शनमा १५ पल्स सेकेन्डको सुधार गरे पनि राष्ट्रिय कीर्तिमान तोडन भने असफल भएका थिए । थारूले १०.८५ सेकेन्डमा सो दूरी पार गरे पनि उनी रामकृष्ण चौधरीले राखेको १०.७१ को राष्ट्रिय कीर्तिमानको समीप पुग्न पनि असफल भएका थिए । स्मरण छ, खेलकुदमा एक पल्सको पनि निकै महत्वपूर्ण भूमिका रहन्छ । त्यही एक पल्सको अन्तरले ओलम्पिकमा खेलाडीले स्वर्ण पदक जितेको थुप्रै उदाहरण छन् । यहाँ थारूले आफ्नो प्रदर्शनमा सुधार गरेको चर्चा र अन्य मुलुकका खेलाडीहरूसँग आफूलाई दाँज्नुभन्दा आफ्नो कमी–कमजोरीतर्फ ध्यान दिएमा थारू आफ्नो र खेलकुदको अवश्य कल्याण हुनेछ । त्यस्तै, लन्डन ओलम्पिकमा प्रमिला रिजालले पनि सय मिटर दौडमा प्रतिस्पर्धा गरेकी थिइन् । पिठ्युँमा बल्झिएको चोटका कारणले इन्जेक्सन लगाएर प्रतिस्पर्धामा उत्रिएकी रिजालको सफलता भनेको डौड पूरा गर्नु मात्रै रह्यो । डाक्टरले नदौडन सल्लाह दिए पनि प्रमिलाले आफ्नो ओलम्पिकमा दौडने सपना पूरा गर्न ओलम्पियन खेलाडी बन्न मात्र दौडिएकी थिइन् ।
लन्डन ओलम्पिकमा पौडीतर्फ श्रेया धिताल र प्रसिद्धजंग शाहले चुनौती पेस गरेका थिए । सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी श्रेया पहिलो हिटबाटै बाहिरिए पनि राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी थिइन् । श्रेयाले आफूले नै राखेको १ मिनेट १०:८२ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोड्ने क्रममा १ मिनेट १०:८० सेकेन्डको समय निकालेकी थिइन् । लन्डन ओलम्पिकमा राष्ट्रिय कीर्तिमान कायम गरेपछि खुसीले गद्गद् भएकी श्रेयाले यो सफलतालाई आफ्नो राष्ट्र, परिवार, प्रशिक्षक र नेपाली जनतालाई समर्पण गरेकी थिइन् । राष्ट्रिय कीर्तिमान कायम गरे पनि उल्टोबाट दोस्रो भएकी श्रेयाले कुल ४८ सहभागिमध्ये ४७औँ स्थान हात पारेकी थिइन् । जसले ओलम्पिकमा नेपाली खेलाडीको स्तर र स्थान कहाँ छ प्रस्ट पारेको छ ।
यस्तै प्रसिद्धजंग शाहले ५० मिटर फ्रि–स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । शाहले आफ्नो उत्कृष्ट २७:०४ समयमा सुधार गरे पनि राष्ट्रिय कीर्तिमान कायम गर्न भने असफल रहे । लन्डन ओलम्पिकमा २६:९३ सेकेन्डको समय निकालेका शाहले चित्रबहादुर गुरुङले राखेको २६:३९ सेकेन्डको कीर्तिमानसमक्ष भने पुग्न सकेनन् । आफ्नो प्रदर्शनप्रति असन्तुष्ट शाहले राष्ट्रिय कीर्तिमान तोड्न नसकेकोमा अफसोच प्रकट गरेका थिए । पहिलो चरणमै ओलम्पिकबाट बाहिरिएका शाहले कुल ५८ जनामध्ये ४७औँ स्थान हात पारेका थिए । यही नै उनको विशेष उपलब्धि पनि बन्यो । त्यस्तै, सुटिङको १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी स्नेह राज्यलक्ष्मी राणा पनि पहिलो चरणमै बाहिरिएकी थिइन् । निकै कमजोर प्रदर्शन गरेकी राणाले आफ्नो बचाउका लागि नर्भस भएको स्वीकारेकी छिन् ।
यसरी लन्डन ओलम्पिकमा सहभागिता जनाएका पाँचै खेलाडीले निराशाजनक प्रदर्शन गरेका छन् । कुनै खेलाडीको प्रदर्शन तारिफ गर्न योग्य छैन । सबैले आफ्नो साख गुमाएका छन् । र पनि, उनीहरू ओलम्पियन खेलाडी भएकोमा हामीले गौरव गर्नु बाध्यता भएको छ । चाहे त्यो वाइल्ड कार्ड पाएर सहभागिता जनाउन पाएको किन नहोस् । वाइल्ड कार्डको विशेषता भनेकै सहभागिता भएकोले उनीहरूले लन्डन ओलम्पिकमा जुन प्रदर्शन गरे त्यसलाई सहभागिताको नजरबाटै विश्लेषण गर्दा उचित ठहरिनेछ । आयोजक राष्ट्रलाई सहभागितामा वृद्धि गर्नुपर्ने र नेपालजस्तो राष्ट्र जुन ओलम्पिक छनोट चरण खेलेर कहिल्यै ओलम्पिकमा पुग्न नसक्ने खेलाडीको प्रदर्शनलाई हेर्दा सन्तोष गर्न सकिन्छ । तर, ओलम्पिक सहभागितालाई सहभागिताको नजरले मात्रै हेर्ने र पाएको अवसरलाई सदुपयोग गर्न नसक्नु नेपाली खेलाडीका लागि दुर्भाग्य भएको छ । राष्ट्रिय खेलकुदमा राष्ट्रिय कीर्तिमान कायम गर्ने खेलाडीले ओलम्पिकमा त्यही कीर्तिमानलाई तोड्न नसक्नु अहिले निकै सोचनीय बनेको छ । जो कुरा खुद खेलाडीले पनि मनन गर्नुपर्ने आवश्यक भइसकेको छ ।
खेलाडीले लन्डन ओलम्पिकमा कमाल देखाउन नसके पनि नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरूले भने कमाल धमाल सबै देखाइदिएका छन् । ओलम्पिकको उद्घाटन हुनु एक दिनअघिदेखि लन्डन पुग्न थालेका एनओसीका पदाधिकारीले आधा ओलम्पिक खेल सकिसक्दा पनि त्यहाँ पुग्ने क्रमलाई जारी राखेका छन् । तीन खेलमा पाँचजना खेलाडीले प्रतिस्पर्धा गरेको लन्डन ओलम्पिकमा एनओसीका ४५ भन्दा बढी पदाधिकारी र उनीहरूका भित्र र बाहिरका पारिवारिक सदस्य पुगेर मुलुकमा मात्र नभई अन्तराष्ट्रमा समेत नेपाल र नेपालीको गौरवगाथाको पहिचान गराउन सफल भएका छन । ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि’ भनेझंै भिसा पाउन निकै दुर्लभ मानिएको मुलुक बेलायतमा एनओसीका पदाधिकारीहरू पुगेर ओलम्पिकको अवलोकन गरेको देख्दा एकजना एनआरएनसमेत रनभुल्लमा परेका थिए । उनले एनओसीका पदाधिकारीहरूको त्यत्रो डफ्फा देख्दा जिब्रो टोक्दै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेपछि यसरी जन्ती जान पाइँदोरहेछ, अनि ध्रुवबहादुर प्रधानले किन एनओसी छोडुन् त ? साथै उनले उक्त टोलीको कटाक्ष गर्दै के नेपालले आगामी ओलम्पिकको आयोजना गर्न लागेको हो ? अनि ओलम्पिकको झण्डा समाउन यत्रो फौज त चाहिहाल्छ नि भनेको सुन्दा भाग्यले सेभ द मिसन बनेका गंगाबहादुर थापा लाजले रातोपिरो भएका थिए । जे होस्, लन्डन ओलम्पिक मुलुक लागि पीडादायक बने पनि एनओसीका पदाधिकारीका लागि भने दसैं सावित भएको छ । उपलब्धि हात लाग्यो शून्य भए पनि खेलाडी र मुलुकको रगत र पसिनासँग खेलबाड गर्दै आएका एनओसीका पदाधिकारीहरूले लन्डन ओलम्पिकमा पदाधिकारीहरूको जम्बो भीड देखाएर बाघ मार्नचाहिँ सफल भएका छन् ।
गणेशमान स्मृतिमा नेशनल बास्केटबल च्याम्पियन
नेसनल क्याम्पसले प्रथम वीर गणेशमान स्मृति अन्तरकलेज (प्लस २) बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहल (राखेप) मा भएको फाइनलमा नेसनलले गोल्डेनगेट इन्टरनेसनल कलेजको ‘ए’ टिमलाई ६४–४७ ले पराजित गरेको हो । नेसनल प्रतियोगिताभर अपराजित रह्यो । नेसनलको जितमा शाश्वतविक्रम सिंहले १६ अंक योगदान गरेका थिए । गोल्डेनगेटका अजय नेपालीले सर्वाधिक २३ अंक जोडे पनि जितका लागि पर्याप्त भएन ।
पहिलो क्वाटरमा १२–६ को अग्रता लिएको नेसनलले अन्तिमसम्म त्यसलाई कायमै राख्यो । नेसनलले दोस्रोमा ९–८, तेस्रोमा १९–११ तथा चौथोमा २४–२२ स्कोर गरेको थियो । उपाधिसँगै नेसनलले २० हजार नगद पुरस्कार हात पार्यो । उपविजेतामा सीमित गोल्डेनगेटले १० हजार नगद पुरस्कारमा चित्त बुझायो । नेपाल विद्यार्थी सङ्घ, काठमाडौं जिल्ला क्षेत्र नं. ४ द्वारा आयोजित प्रतियोगितामा नेसनलका छिरिङ शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । त्यसबापत उनले पाँच हजार नगद पुरस्कार पाए । युनाइटेड एकेडेमी अनुशासित टिम ठहरियो । ०४६ सालको आन्दोलनका कमान्डर गणेशमान सिंहको स्मृतिमा आयोजित १३ दिने प्रतियोगितामा गोल्डेनगेटको दुईसहित जम्मा २४ टिम सहभागी थिए । विजेतालाई नेपाली काङ्ग्रेसका महामन्त्री एवम् स्व. गणेशमानका छोरा प्रकाशमान सिंह, युवा नेता गगन थापालगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । उक्त अवसरमा वरिष्ठ फोटो पत्रकार श्याम चित्रकार तथा राखेपमा लामो समयसम्म कार्यरत सानुकाजी महर्जनलाई दोसल्ला ओढाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।
बागमती अञ्चलस्तरीय भलिबल भदौमा
रिठ्ठेचौर युवा क्लबको आयोजनामा प्रथम बागमती अञ्चलस्तरीय पुरुष भलिबल प्रतियोगिता भदौ ८ देखि हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने कुराको हालै पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सुदीप लामिछानेले जानकारी गराएका थिए । शीर्ष तीन स्थान हात पार्ने टिमलाई क्रमश: ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष सुमन पौडेले जनाएका छन् । उत्कृष्ट खेलाडीलाई तीन हजार नगद पुरस्कार दिइनेछ । तीनदिने प्रतियोगिताका खेलहरू नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली उमाविको प्राङ्गणमा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । सहभागी टिमले जिल्लाकै खेलाडी भए पनि नेपाली सेना, नेपाल प्रहरी र एपीएफ क्लबका खेलाडीलाई टिममा समावेश गर्न पाउने छैनन् ।
वैदेशिक प्रशिक्षणमा टेनिस खेलाडी
थाइल्यान्डको बैंककमा हुने बन्द प्रशिक्षण शिविरका लागि आठ टेनिस खेलाडीको छनोट पूरा भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको छनोट प्रतिस्पर्धाबाट समान ४–४ पुरुष तथा महिला खेलाडी छानिएका हुन् । छनोट प्रतिस्पर्धा जुलाई २७ देखि अगस्ट ३ तारिखसम्म सञ्चालन भएको थियो । छनोटमा ११ वर्षदेखि १४ वर्ष उमेर समूहका आठ पुरुष तथा ६ महिला खेलाडीले राउन्डरोबिन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा शीर्ष चार स्थान हासिल गर्ने खेलाडी प्रशिक्षणका लागि छनोट गरिएको अखिल नेपाल लनटेनिस सङ्घले जनाएको छ ।
छनोट हुने पुरुष खेलाडीमा प्रनव कायस्थ, सक्षम कार्की, अभय गौचन तथा संरक्षणभूषण बज्राचार्य छन् । महिलामा विभूति कार्की, मायाका राणा, विजिशा श्रेष्ठ तथा माहिका राणा छन् । एसियाली टेनिस महासङ्घले नेपालसहित एसियाका विभिन्न २० राष्ट्रलाई प्रशिक्षणका लागि आमन्त्रण गरेको थियो । प्रशिक्षण अगस्ट १३ देखि २४, अगस्ट २७ देखि सेप्टेम्बर ७ तथा नोभेम्बर १९ देखि ३० तारिख गरी विभिन्न तीन चरणमा सञ्चालन गरिनेछ । तीनमध्ये कुनै एकमा नेपाली टोली सहभागी हुनेछ । त्यसको निधो महासङ्घले गर्ने टेनिस प्रशिक्षक सूर्यभूषण बज्राचार्यले बताए । एसियाली टेनिस सेन्टरमा हुने प्रशिक्षण पाराडन श्रीचापान तथा तामरिन ताना सुगार्नले सञ्चालन गर्नेछन् । कुनै समय विश्व वरियतामा श्रीचापान ९औँ स्थानमा थिए भने सुगार्न शीर्ष २० स्थानभित्र पारेकी टेनिस खेलाडी हुन् ।
बर्नहार्ट अन्तरकलेज बास्केटबल अर्को महिना
बर्नहार्ट हायर सेकेन्डरी स्कुलको आयोजनामा तेस्रो बर्नहार्ट अन्तरकलेज बास्केटबल प्रतियोगिता भदौ ११ गतेदेखि हुने भएको छ । प्रतियोगितामा छात्रमा १६ तथा छात्रामा आठ टिमको सहभागिता रहने बर्नहार्टका खेलकुद संयोजक किरण महर्जनले जानकारी गराएका छन् । छात्रतर्फ प्राइम डिफेन्डिङ च्याम्पियन हो । साताव्यापी प्रतियोगिताका खेल बल्खुस्थित आयोजककै कोर्टमा हुनेछ । छात्राको स्पर्धा पहिलोपटक समावेश गरिएको हो ।
हरेराम स्मृति अन्तरविद्यालय टेटे हुने
हरेराम जोशी स्मृति प्रतियोगिता सञ्चालक समितिको आयोजनामा सातौँ हरेराम जोशी स्मृति अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता साउन २५ गते हुने भएको छ । प्रतियोगितामा विभिन्न २० विद्यालयका करिब एक सय ५० खेलाडीको सहभागिता रहने टेबलटेनिस प्रशिक्षक सुशील पौडेलले जनाएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगितामा यू–१४ उमेरसमूहतर्फ छात्र र छात्रा एकल स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।
पेस्की तथा अनुदान रकममा रोक
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित उच्चस्तरीय छानबिन समितिले राखेपबाट पेस्की तथा अनुदान रकम लिई फस्र्योट नगर्ने विभिन्न राष्ट्रिय खेल सङ्घहरूलाई दिइने पेस्की तथा अनुदान रकम निकासा नगर्न राखेपलाई अनुरोध गर्ने निर्णय गरेको छ । छानबिन समितिका संयोजक राखेप उपाध्यक्ष पीताम्बर तिम्सिनाको अध्यक्षतामा बसेको समितिको बैठकले उक्त निर्णय गरेको हो ।
प्रतिक्रिया