कोरियन लगानीमा निर्माण गरिन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ को (विद्युत् खरिद सम्झौता) पिपिए गरिने भएको छ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बुधबारको निर्णयले आयोजनाको अमेरिकी डलरमा पिपिए गर्ने निर्णय गरेको हो ।
कोरियन लगानीमा निर्माण हुन लागेको आयोजनामा ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी हुनेछ । यसमा १५ प्रतिशत विश्व बैंक अन्तर्गतको आइएफसी तथा १० प्रतिशत नेपाली लगानी पनि छ ।
विद्युत प्राधिकरणले आयोजनाको पिपिए गर्ने भएसँगै यतिबेला प्राधिकरणको सर्बत्र बिरोध भइरहेको छ । १७ वर्षअघि ६० मेगावाटको खिम्तीमा जस्तै डलर पिपिए भएको विषयलाई जोडेर माथिल्लो त्रिशुली–१ ले देशको अर्थतन्त्रमा ठूलो दुर्घटना निम्तिने हल्ला फिजाँइएको छ । यसको सर्बत्र रुपमा बिरोध र नकारात्मक टिप्पणी सुरु भएपछि प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन नै गरी प्राधिकरणले गरेको निर्णय देशको हितमै रहेको बताए । ‘विगतमा विदेशी लगानीका आयोजनामा अमेरिकी डलरमा गरिएको पिपिए जस्तो होइन, हिजोका कुनैसँग त्रिशूली–१ को तुलना गर्न मिल्दैन,’ उनले भने, ‘यो वास्तविक डलर पिपिए नै होइन ।’
८० प्रतिशत ऋणको भुक्तानी गर्नमात्र डलरमा पिपिए गर्ने निर्णय भएको छ । यस्तो पिपिए १० वर्षसम्मका लागि हुनेछ । १० वर्ष वा ऋण तिरेपछि विद्युत् खरिद गरेको रकम नेपाली मुद्रामै भुक्तानी हुने हुँदा देशलाई कुनै नोक्सानी नहुने घिसिङले बताए । सरकारले २०७२ फागुनमा जारी गरेको ‘ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशक’ सम्बन्धी कार्ययोजना र ऊर्जा मन्त्रालयले तयार गरेको निर्देशिका अनुसार नै पिपिए गर्ने निर्णय भएको घिसिङले प्रस्ट पारे । ‘पिपिए हस्ताक्षर भएकै दिन नेपाल राष्ट्र बैंकले तोकेको डलरको सटही मूल्य स्थिर (लक हुने) राखिनेछ,’ उनले भने, ‘यसो हुँदा डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा असर पर्दैन । डलर कमजोर हुँदा पर्ने असर ‘हेजिङ फन्ड’ बाट व्यवस्थापन हुनेछ ।’ हेजिङ फन्ड स्थापनाको प्रक्रिया सुरु भइसकेको पनि उनले जानकारी दिए । राष्ट्र बैंकले यस्तो फन्ड स्थापना, सञ्चालन र नियमनको ढाँचा तयार गर्नेछ । हेजिङ लागत सरकार, प्राधिकरण र आयोजना प्रवर्द्धकले बेहोर्ने छन् ।
विदेशी मुद्रा अर्थात् डलरको जोखिम कम गर्ने यो उत्कृष्ट नमूना भएकाले भविष्यमा अन्य आयोजनामा पिपिए गर्न सजिलो हुने घिसिङको भनाइ छ । प्राधिकरणले आयोजनाको विद्युत् सुख्खा याम (मंसिर १६ देखि जेठ १५) सम्म प्रतियुनिट ८.४० रुपैयाँ र बर्खा (जेठ १६ देखि मंसिर १५) सम्म प्रतियुनिट ४.८० रुपैयाँमा किन्नेछ । आयोजना नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीले अघि बढाएको छ । कम्पनीले परफर्मेन्स ग्यारेन्टी (धरौटी) बापत २१ करोड ६० लाख रुपैयाँ बुझाएपछि पिपिएमा हस्ताक्षर हुनेछ ।
त्रिशूली–१ आरओआर (नदी प्रवाही) आयोजना भने पनि यसको हिउँदको ऊर्जा निकै राम्रो रहेकोमा घिसिङले जोड दिए । उनका अनुसार विगतमा भएका डलर पिपिएसँग यसको तुलना गरेर व्याख्या गर्नुको अर्थ छैन । क्यू–५० मा डिजाइन भएकाले आयोजनाबाट हिउँदमा पनि ३९ प्रतिशत (१०६) मेगावाट विद्युत् उत्पादन हुन्छ ।
प्रतिक्रिया