३६ लाख १८ हजारसहित हुन्डी कारोबारी गर्ने प्रहरीको फन्दामा

३६ लाख १८ हजारसहित हुन्डी कारोबारी गर्ने प्रहरीको फन्दामा


३६ लाख १८ हजारसहित हुन्डी कारोबारी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध रूपमा हुन्डीको कारोबार गर्दै आएका सन्तोषकुमार रौनियारसहित ४ जनालाई ३६ लाख १८ हजार २ सय ५० रुपैयाँसहित मोरङ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा नं ६ का सन्तोषकुमारसहित वडा नं. ७ का सुदर्शन शाह, ११ का निरञ्जनकुमार शाह र १७ का साकिब आलम छन् ।

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीका अनुसार विराटनगर महानगरपालिका वडा नम्बर ११ का कन्हैया गुप्ताका घरमा डेरा गरी बस्ने सन्तोषकुमारले आफ्नै कोठामा कार्यालय बनाएर हुन्डीको कारोबार सञ्चालन गरिरहेका थिए ।

उक्त अवैध कार्यालयबाट हुन्डी कारोबार गर्दा प्रयोग गरिएका कागजात र फाइलसहित भारतीय एअरटेल कम्पनीको सिम कार्ड १ थान र डायरी पनि बरामद गरिएको प्रहरी उपरीक्षक बिसीले बताए ।

नेपालमा अवैध हुन्डीसम्बन्धी ठोस कानुन नभएकाले पक्राउ परेकालाई सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत मुद्दा चलाउन काठमाडौं ल्याइने उनले जानकारी दिए ।