नेकपा माओवादी केन्द्रका नेता एवं बागलुङ प्रतिनिधिसभा–२ बाट नवनिर्वाचित सांसद देवेन्द्र पौडेल साह्रै भद्र नेताका रुपमा चिनिन्छन् । तर, यस्ता भद्र नेता पनि आफ्नै क्षेत्रमा कुटिएको समाचार प्राप्त भएको छ ।
बिहीबार राती ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारस्थित मिराज होटलमा माओवादी केन्द्र आयोजक समितिका सदस्य तुल्सीराम अर्यालले नेता पौडेल र अर्का बागलुङ २ (ख) प्रदेश सभा सदस्य टेकबहादुर घर्ति मगरलाई हात छाडेका हुन् ।
माननीयद्वयसँगै पौडेलका अंगरक्षकलाई समेत अर्यालले हात हालेका थिए । पार्टीले पटक–पटक आफूलाई झुठा आश्वासन दिएको भन्दै सामान्य भनाभनमा अर्यालले नेताद्वयलाई कुटपिट गरेको बुझिएको छ । प्राप्त जानकारी अनुसार अर्याल पटकपटक टिकटको आश्वासन पाएर पनि मौका नपाएको नेताका रुपमा परिचित छन् । पौडेलकै कारण आफूलाई हात लागिसकेको सांसदको टिकट खोसिएको बुझाई अर्यालको छ ।
२०७० मा माओवादीतर्फबाट थोरै मतले पराजित अर्याल यसपटक पनि टिकटका लागि सिफारिसमा परेका थिए । कुटपिट बारे प्रतिक्रिया दिर्दै अर्यालले भनेका छन्, ‘चुनावताका दीनानाथहरूले के भनेका थिए ? अहिले क्षेत्र खाली छ । म आफ्नो स्वाभिमानमा छु । हामीलाई दास बनाउँदाको प्रतिफल हो यो ।’
प्रतिक्रिया