पूर्वराजा बनेर एकछिन कल्पिँदा…—रमेश ग्रहण

पूर्वराजा बनेर एकछिन कल्पिँदा…—रमेश ग्रहण


देशलाई नाइजेरियाजस्तो बनाउन लागिसके । हाम्रा हुँदाखाँदाको सात अक्षरको उत्कृष्ट नामलाई घटाएर दुई अक्षरको बनाइदिए । तर, हामीलाई मान्नेले मानेकै छन्, जयजयकार गर्नेले गरेकै छन् । हामी एउटा दरबारबाट अर्को दरबार सरेको मात्र हो । नारायणहिटी दरबारलाई सङ्ग्रहालय बनाइए पनि त्यहाँ श्रीपेच, राजदण्ड र असली सिंहासन कहाँ छ र † त्यो अस्थायी सङ्ग्रहालय हो, सब हाइपोथेकिटल हो । पुजनीय दाजुभाउजूको वंशनाथ हुँदा हामी पोखरामा थियौँ । त्यसकारण यहाँहरूको अन्तिम ढुकढुकी महसुस गर्न पनि पाएनौँ । भतिज दीपेन्द्रले त्यस्तो हर्कत गर्ला भन्ने हामीले सपनामा पनि सोचेका थिएनौँ । अरू व्यहोरा त छानबिन आयोगले सार्वजनिक गरेकै हो । त्यो माधव नेपाल ‘आयोगमा म छुटुँला नि सरकार’ भन्थ्यो, पछि त धोका पो दियो । हामी व्यापारी मँन्छे, श्रीपेच धारण गर्ने रत्तिभर इच्छा थिएन, तर दाजुको विरासत त थाम्नैपर्‍यो, देश अगाडि बढाउनैपर्‍यो । अकस्मात् आइलागेको त्यत्रो बज्रपातलाई सहेर सङ्कटग्रस्त र शोकाकूल देशलाई हामीले दिशा दिएकै हो, सबैले स्वीकार, समर्थन गरेकै हो । नासलचोकमा श्रीपेच लगाउँदा सबैले दाम चढाएकै हो । शोकमा डुबेर मुस्काउन नसक्दासमेत आफ्नो कर्तव्य र जिम्मेवारी पूरा गर्नु नै थियो, गरियो । जङ्गलमा बसेर आतङ्क मच्चाइरहेका माओवादीहरू भन्थे, ‘यो सिक्किम बनाउने खेल हो र हामी लेन्डुप दोर्जे हौँ ।’ हामी भागेका छैनौँ, नेपालमै छौँ, नेपाल सिक्किम भयो त ? बरु अहिले उनीहरूले नै पो सिक्किम बनाउन खोज्दै छन् ।
हाम्रा पुर्खा बडामहाराजा पृथ्वीनारायण शाहले बनाएको यो देश र जनताको रक्षा गर्न हामीले के गरेनौँ ? हाम्रा देशभक्त होनहार सल्लाहकार–सेवकहरूको पहलमा हामीले भ्रष्टाचार उन्मूलन गर्ने अभियान चलायौँ, गिरिजाप्रसादलाई प्रधानमन्त्रीबाट राजीनामा गर्न लगायौँ, प्रजातन्त्रको रक्षा र सुशासन कायम गर्न शेरबहादुरलाई दुई/दुईपटक मौका दियौँ । तर, अक्षम भएपछि कसको के लाग्छ ? बाध्य भएर माघ १९ को कदम हामीले चाल्नुपर्‍यो । ‘आफैं नमरी स्वर्ग देखिँदैन’ भन्ने ठानी हामीले सो ‘रिक्स’ मोलेका थियौँ । देशको दुरावस्था देखेर हैरान भई हामी सक्रिय भएका थियौँ । माओवादी समस्या हल गर्नका लागि संसदीय व्यवस्थालाई समाप्त पार्न सहकार्य गरौँ भनी सत्ताका लागि युद्ध छाडेर आउन हामीले हरियो बत्ती देखाएकै थियौँ । कुरा मिल्ने क्रममा थियो तर कसले भाँजो हालिदियो उनीहरू बिच्किएर कोइरालाको पछि पो लागेछन् ।
भ्रष्टाचारले आक्रान्त जनताको मनशान्तिका लागि शाही आयोग गठन गर्‍यौँ, पत्रकारहरूको हकहितका लागि राष्ट्रिय पत्रकार महासङ्घ बनायौँ, राष्ट्रघाती नागरिकता विधेयक पास हुन दिएनौँ, पितृ र आमाको शान्तिका लागि हामी देश दौडाहामा पनि पसिना चुहाइचुहाई गयौँ, जनताका पीरमर्का नजिकबाट सुन्यौँ । त्यस्तै भारतमा रहँदा चीन पनि सार्कमा रहनुपर्छ भन्ने आँट गर्‍यौँ, अथाह रोजगारीको माहोल मिलाउन अरबतिर गयौँ, प्राकृतिक सम्पत्तिलाई पुँजीमा रूपान्तरण गरी आर्थिक विकास गर्ने उद्देश्यले अफ्रिकासम्म पुग्यौँ । के मात्र गरेनौँ हामीले ? हरक्षेत्रका स्वच्छ छविहरूलाई छानीछानी मन्त्री बनायौँ, इतिहासको सम्मान गर्न थापाहरूलाई उच्च स्थान दियौँ, कीर्तिनिधि विष्टलगायतका इमानदार र नैतिकवान् व्यक्तिहरूलाई सहायक बनायौँ, जनता भड्काएर जनतालाई नै दु:ख दिनेहरूलाई नियन्त्रणमा राख्यौँ, सामाजिक–सांस्कृतिक परम्पराहरूलाई झन् बलियो बनायौँ, राष्ट्राध्यक्ष तथा कार्यकारी भूमिका एकसाथ निर्वाह गर्‍यौँ । देश चलेकै थियो, तीन वर्षभित्रै नेपालको मुहार फेरिदिने वाचा गरेकै हो, तर हाम्रो गल्ती कहाँ भयो ? कसरी भयो ?
अहिले पनि नेपाल र नेपालीको हामीलाई त्यत्तिकै माया छ । नागार्जुनको डाँडामा फुर्सद मनाउँदै गर्दा एकान्तपे्रमी पो हुन थालिएछ । तर, देश र जनताको बिजोक देख्दा भने अहिले पनि मन हुँडलिएर आउँछ । छोरा पारस त दूरदर्शी नै हो, भन्थ्यो ‘यी बूढाहरूले देश बिगार्न लागे’ भनेर । ‘मलाई जिम्मा दिनोस् सब ठीकठाक पार्छु’ त भन्थ्यो नि † पत्रिकाहरू पढ्दा, समाचार हेर्दा र शुभचिन्तकहरूसँग बात मार्दा छक्क परिन्छ । यो के भइरहेको छ नेपालमा ? त्यति सुन्दर, शान्त, ठण्डा नेपालमा अहिले अशान्ति, अराजकता र गर्मागर्मी चर्केको छ । गालीगलोज गर्‍या छन्, सराप्या छन्, खुट्टा तानातान गर्‍या छन्, तँ ठूलो कि म ठूलो भन्या छन्, हरे… । सबै छाडेर चुपचाप बस्दा पनि हामीलाई प्रतिगामी भन्न छाड्या छैनन् । पछिपछि लागेर सोध्न आउँछन्, केही बोल्यो कि धम्की दिन्छन् । हिजोका दिनमा ढाड देखाउन नसक्ने, मुन्टो उठाएर आँखा जुधाउन नसक्नेहरू आज चोरीऔंला तेस्र्याएर तर्साउन खोज्छन् । ओरालो लागेका हरिणको चालजस्तो, यो त अति भो । हामीले चाहेको पूर्ण प्रजातन्त्र कहाँ यस्तो थियो ? यो पनि कुनै लोकतन्त्र हो ?
खैर जे होस्, टुलुटुलु हेरेर रहने बेला छ, सहनै पर्ला । देखिने र सुनिने बेला फेरि पनि त आउला । उमेर छँदै छ, सबैले चिनेकै छन्, ठाउँठाउँमा स्वागतसत्कार भएकै छ, राजषी ठाँट कम भएजस्तो लाग्दैन । चिन्ता गर्नुपर्ने खासै केही छैन । अहिले दलका नेतावालाहरूको हालीमुहाली भए पनि विगतमा यिनको हविगत र औकात हामीले देखेकै हो । जनप्रतिनिधि भन्छन्, आफू–आफू नै मारामार गर्छन् । इस्पातको शरीर भएको हामीलाई ‘च्यालेन्ज’ दिने गिरिजाप्रसादलाई अब बेहोर्नुपर्दैन । संसद् पुनस्र्थापना गर्न लगाएर दाजुको आदर्शविपरीत उनले ‘राजतन्त्र समाप्त भो गद्दी छोड्नोस्’सम्म भने । हाम्रो खान्दानमै यत्रो धोका पाएको थाहा छैन । बरू संस्थापक सन्त कृष्णप्रसादले धर्म छाडेनन् । खुमबहादुरले महायज्ञमा हामीलाई माला लाएकै हो, तारानाथको चिन्ता गर्नैपरेन, बीपीका छोरा प्रकाश र नातिनी मनीषाको टन्टै भएन । अनि विजय गच्छदार, कालीबाबा, पाइलटबाबा र भाजपाका राजनाथ सिंह हिन्दू राष्ट्रकै पक्षमा छन् । ८५ प्रतिशत नेपाली जनता हिन्दू छन् भने यो हिन्दू राष्ट्र नभएर के हो त ? त्यसैले हामी पनि पूर्व होइन वर्तमान हिन्दू हौँ ।
त्यसैले हामीलाई लाग्छ– बिस्तारै मैदान खाली हुँदै छ । जनता क्रमश: कथित लोकतन्त्र र लोकतन्त्रकामसिहाहरूसँग निराश हुँदै छन् । गणतन्त्रमा जीउधनको सुरक्षा नहुने, विकास नबढ्ने, भ्रष्टाचार झन् मौलाउने, राजनीतिक स्थिरता पनि नहुने, महँगी, बेरोजगारी अझ बढ्ने, उत्पादन गुण्डागर्दी हुने, हकअधिकार स्वतन्त्रता मासिँदै अस्तित्वको खतरा रहनेजस्ता शिक्षा जनताले पाइराख्या छन् । नियम, कानुन, सत्ता सबै अस्थायी छन् । हजारवटा नसल्टने समस्या आफैं निकाल्छन् अनि नयाँ संविधान बनाउने गफ दिन्छन् । सेनालाई चिन्या छैनन्, समायोजनको कुरा गर्छन् । जागिर खाँदा सैनिकले कस्तो शपथ खान्छन् बुझ्नु छैन, परमाधिपति भइसक्यालाई एक्ल्यायौँ भन्ठान्छन् । अनमिनलाई खूब आफ्नो ठान्या छन्, दङ्ग छन्, पछि चिन्छन् छेपारो भनेर । नयाँ संविधान बनिनै हाले पनि त्यसपछिको परिणाम यिनलाई के थाहा ? कसरी जेठ १४ मा संविधान देलान्, हामी पनि हेरौँला ।
सत्चितशमशेरहरू मरेर गए पनि हामीलाई चाहनेको यहाँ कमी छैन । केही अवसरवादीले चाहिँ विगतमा हामीलाई उचालेकै हुन् । तिनले फाइदा पनि लिनसम्म लिए । अहिले विदेशी शक्तिहरूले नेपाललाई बेसक्याम्प बनाउन लाग्दा पनि तिनीहरू मौन बस्या छन् । हामीलाई शिखण्डी बनाएर गणतन्त्रवादी भएका छन्, लोकतन्त्रका प्रवक्ता भएर हिँड्या छन् । कहिलेकाहीँ त हाँसो पनि उठ्छ, कति नाटक गर्न जानेका यिनले ? हामी नरहे देश रहँदैन, हाम्रो भूराजनीतिक अवस्था नै विचित्रको छ भन्ने जान्दाजान्दै हाम्रो पक्षमा बोल्न किन यिनीहरू काँपिरहेका होलान् ? यो अवस्थामा नबोले कहिले बोल्छन् यिनीहरू ? गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको सवालमा जनमत सङ्ग्रह गरिनुपर्छ भनेर बिचरा कमल थापा वैधानिक रूपले हाम्रा लागि लडिरहेको छ, आन्दोलन एक्लै गरिरहेछ । यो हाम्रा लागि सानो ऋणको भार होइन । हाम्रो सपना पूरा भई ‘ह्याट्रिक’ गरिएछ भने उसको ऋण अवश्य चुक्ता गर्नेछौँ ।
हामी भित्र–बाहिर भइरहनु कुनै असम्भव कुरा होइन । रणबहादुर शाह, हजुरबुबा त्रिभुवन अनि कम्बोडिया, जापान, बेलायत, स्पेनका इतिहास पढ्नुपर्छ । अनि थाहा हुन्छ राजतन्त्रको उचारचढावका कहानीहरू । सन् १९१८ को रुसको जारको घटनाबाट हामी अलिक सतर्क थियौँ । तत्कालीन परिस्थितिमा जनताको मन नदुखाउन मात्र हामी पाखा लागेका थियौँ । धेरैले यसलाई हाम्रो कमजोरी ठानेछन् । सम्मानित भएर बस्न अन्तर्राष्ट्रिय समुदायले हामीलाई सङ्केत गरेकै थियो, जनचाहना पनि त्यही थियो । पशुपतिनाथमा छिर्न नदिँदा हामीहरूसँग सोनिया गान्धी अलि रिसाइछिन्, क्रिश्चियन मिसनरीले हाम्रो डाहा गरेको पनि सत्य हो । सायद त्यही भएर सानो गल्तीमा पनि हामीले कठोर सजाय पाइराख्या छौँ । तर, हामी देश र जनता जनार्दनको सेवा गर्न चाहन्छौँ । यो साँचो हो कि हामी धैर्य गर्न जान्दछौँ नत्र धेरै पहिला नै धेरै थोक हामीले गरिसक्थ्यौँ ।