बुटवलमाथि छेडछाड गरे काठमाडौं र पोखरा ठप्प पारिने

बुटवलमाथि छेडछाड गरे काठमाडौं र पोखरा ठप्प पारिने


– चन्द्रकान्त खनाल

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणले प्रदेश नम्बर ५ को मुकाम बुटवलबाट सार्ने चलखेल भएमा काठमाडौ र पोखरा ठप्प पार्ने चेतावनी दिएका छन् ।

रुपन्देहीले विभिन्न संकटका बेला काठमाडौलाई घुँडा टेक्नबाट बचाएको स्मरण गराउँदै मुकाम बुटवलबाट सार्ने निर्णय भए काठमाडौं र पोखरा ठप्प हुन सक्ने चेतावनी नेता खाणले दिएका हुन् ।

तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको चौथो साधारणसभा तथा दोश्रो अधिवेशनको शनिबार मणिग्राममा उदघाटन गर्दै नेता खाणले मुकाम सार्न केही शक्तिले चलखेल गरेको आरोप लगाउँदैे यो कदापि मान्य नहुने बताए ।

जनप्रतिनिधिको संख्याका हिसाबले पनि रुपन्देहीलाई मुकाम हुनबाट कसैले रोक्न नसक्ने उनको तर्क छ । तिलाोत्तमा नगरपालिकाले विकासको ठुलो सम्भावना बोकेको भन्दै उनले यहाँको विकासको प्रभाव मुलुकभरि पर्ने बताए । मुलुकमा भएका सबै ठुला राजनीतिक परिवर्तनहरूमा ठुलो भूमिका खेलेका यस क्षेत्रका नागरिकलाई राज्यले सम्मान गर्नुपर्ने उनको भनाई छ ।

अधिवेशनले पुन गुणनिधि भण्डारीको अध्यक्षतामा २१ सदस्य रहेको नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा ज्ञानेन्द्र कार्की, उद्योग उपाध्यक्षमा कृष्णप्रसाद शर्मा, बाणिज्य उपाध्यक्षमा हरिलाल पाण्डे, महासचिवमा कमल कँडेल रहेका छन् । त्यस्तै, सचिवमा विष्णु भण्डारी, सहसचिवमा टिकाराम भण्डारी, कोषाध्यक्षमा सुरज पंगेनी र सह कोषाध्यक्षमा अमृत भुषाल निर्विरोध भएका छन् ।

कार्यक्रममा तिलोत्तमा ब्यापार संघका अध्यक्ष जेपी कँडेल, नेकपा माओवादीकेन्द्र तिलोत्तमा नगर समितिका अध्यक्ष लक्ष्मण खनाल, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेस ५ का अध्यक्ष गुणनिधि तिवारी, प्रदेशसभा सदस्य रमा अर्याल, प्रदेशसभा जेष्ठ सदस्य बलदेव शर्मा, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे लगाायतले शुभकामना मन्तब्य राखेका थिए । तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष गुणनिधि भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव माधवलाल देवकोटाले गरेका थिए ।