विशिष्ट भूतहरूको बिगबिगी—बद्री दाहाल भष्मासुर

विशिष्ट भूतहरूको बिगबिगी—बद्री दाहाल भष्मासुर


भूत, प्रेत, पिचास, जलमसान, थलमसान, बोक्सी, डायना, सिमे, भूमे, इहलोक, परलोक, स्वर्ग र नर्कजस्ता पक्षहरूमा विश्वास गर्ने नेपाली समाज अझै परम्परावादी अस्वस्थ विचारबाट ग्रस्त छ । माथि उल्लेख गरिएका विम्बमा इष्ट–अनिष्ट सबैखाले आस्था–अनास्था सामान्य जनमनोविज्ञानमा लिसोझैं भएर टाँसिएको टाँसियै छ । धर्मभीरु, सोझा र आस्तिक इमानी नेपालीलाई पापभीरू, बाङ्गा, नास्तिक तथा बेमानी अगुवागणका बाटाहगुवा निकृष्ट व्यवहारले उनीहरूको सुन्दर एवम् स्वप्निल संसारको अधिकल्पनामा भूकम्प र तुफान बनेर शीर्ष–उपशीर्ष नेता पिचाससरह मुर्कुट्टा नाचमा सामेल छन् ।
यतिखेर भारतभक्त बाबुराम, जसलाई फुस्साराम, काबुराम, हामुराम, राष्ट्रभक्तिमा अत्यन्त हराम, भ्रष्टराम, ढोंगीराम र दुष्टरामका विविध विशेषणमा चिनिन्छ त्यही व्यक्तिबाट पूर्वविशिष्ट भइटोपलेका देशचुसाहा भुसाहाहरूमा आजीवन रा–जसी सुविधा दिने घोषणा गरेर प्रधानमन्त्री पदको चरम दुरुपयोग देखाइएको ब्रह्मलुट जगजाहेर छ । पिचास, पे्रत, राँकेभूत र तुच्छयोनिमा रौरव र अन्धतामिश्रजस्ता नरकयात्रा तय गर्ने पुरुषार्थ पछारेकाहरूमा ‘राष्ट्रकोष बाँडीचुँडीजात्रा’ गाई–जात्रासँगै मनाइन थालिएको छ । दिउँसै रात पारेर पूर्वठालूहरूका हातहातमा लोभलाग्दो कान्छीनानीका खात लगाउने काइते अध्यादेशमा रावणवरणको ल्याप्चे पनि भइसक्यो । भित्रभित्रै जुँगा मुसारेर ‘मौनम् सम्मति लक्षणम्’ गर्ने यी ठालूखाले ‘कालेकाले मिलेर खाम् भाले, भन्ने अगस्ति वचिन्तनबाट ग्रस्त छन् । झर्झराउँदा युवा जो रोजगारका लागि घरबार छोडेर पराईभूमिमा तातोेकराइको मराई भोग्न बाध्य छन्, तिनैका खुन चुसेर, जनताले तिरेको कर हसुरेर अनि विदेशी सौजन्य र एड भकुरेर हेड पो भएका छन् गाँठे †† आजीवन यिनीहरूको भातभान्छा चलाएर देश–विदेश सयर गराउने ठेक्का नेपाली जनताले लिन सक्तैन । सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक कुनै पनि क्षेत्रमा तातोराम केही नगरेका बेइनाम र हराम दिनचर्याका कठपुतलीहरूलाई केको आजीवन भत्ता भनेर पूर्वप्रशासक एवम् नागरिक समाजकोतर्फबाट रिले अनशनमार्फत तिले, तिल्के र झिल्के भूतहरूलाई थर्काउँदै छन् । रोजगार नपाएर जुन देशका १७ सय युवा दैनिक बिदेसिन्छन्, जीवनजल र सिटामोलजस्ता सामान्य ओखती उपलब्ध नहुँदा असमयमै हजारौँ यमराजको ढोका ढकढक्याउन पुग्छन्, जुन देशको बजेट असी प्रतिशत विदेशी सहयोगमा बन्छ, जहाँ नयाँ उद्योगधन्दा खुल्नु त कता भएका उद्यमशाला बेच्ने र भत्काउने उल्टो पुरुषार्थ चल्छ, त्यस्तो महादरिद्र देशमा बसेर निवृत्त भइसक्दा पनि विशेष सुविधा, द्विविधा नमानी पड्काउन तयार हुने यी स्वार्थलम्पटसित भुत्राको भिजन छ र ? घिच्न, लुट्नका कुसोच मात्र † राष्ट्रवादी सोझा नेपालीलाई सत्तामा हुँदा वा नहुँदा सबै बेला पीडा दिने यी उत्पीडक भूत, प्रेत, पिचास र बक्कासुर अघासुर प्रभृत्तिलाई कसरी इति गर्न
सकिन्छ ? जनता जागा र आगा बन्न अबेला भइसकेको छ । नेपालका विशिष्ट भनिएका अशिष्टहरू निकृष्ट सोचमा चुर्लुम्म डुबेकैले यतिखेर देश अधोगतितिर हुइँकिँदै छ । स्वार्थ, भ्रान्ति, राष्टघातको सिस्नो फाडौँ भूतहरू जो विशिष्ट भनेर कौलासिएको छ, ती अशिष्ट र निकृष्टविरुद्ध विद्रोहमा जुटौँ । भूतहरूको बिगबिगी मासौँ नयाँ राष्ट्रमा अभिनव विचारले बाँचौँ !! इति गाईजात्रा !!!