ग्यास बिक्रेताद्वारा कमिसन बढाउन माग

ग्यास बिक्रेताद्वारा कमिसन बढाउन माग


ग्यास बिक्री गर्दा प्राप्त हुने कमिशन अति न्युन हुँदा ग्यास बिक्रेताहरुको जीवनयापनमा समस्या परेको भन्दै ग्यास बिक्री बापतको कमिशन वृद्धि गर्नुपर्ने माग गरेका छन् ।

अन्य व्यापार व्यवसायमा २० प्रतिसत मुनाफा लिन पाइने कानूनी व्यवस्था रहे पनि ग्यास बिक्री बापतको कमिशन अति न्युन भएको भन्दै उनिहरुले लगानीको पाँच प्रतिशत मुनाफा हुने व्यवस्था गर्न पनि माग गरेका छन् ।

शनिबार बुटवलमा आयोजित ग्यास बिक्रेता संघ रुपन्देहीको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन उदघाटन कार्यक्रममा ग्यास बिक्रेताहरुले उक्त माग गरेका हुन् ।

कार्यक्रममा बोल्दै ग्यास बिक्रेता माहासंघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यास बिक्री बापत हाल प्राप्त कमिशनले परिवार पाल्न सक्ने अवस्था नरहेको भन्दै तत्काल कमिशन बढाउनुपर्ने कुरामा जोड दिए ।

ग्यासमा लाग्दै आएको मुल्य अभिवृद्धि कर भ्याट बापतको रकम राज्य कोषमा जम्मा नहुने भन्दै उनले भ्याट खारेज गरेर बिक्रेताहरुलाई लगानिको पाँच प्रतिसत मुनाफा दिने व्यवस्था गर्न माग गरे ।

लामो समयसम्म ग्यास बिक्री बापतको कमिशन नबढेका कारण ग्यासको व्यापार व्यवसाय सञ्चालनमा समस्या भएका बेला एकाएक ग्यास उद्योगहरुले ५० रुपयाँ बाट घटाएर ३२ रुपयाँ प्रति सिलिण्डर कमिशन कायम गर्दा व्यवसाय थप संकटमा परेको उनको भनाई थियो ।

उनले मुलुकका ठुला शहरहरुमा ग्यास बिक्री बितरणकालागि छुट्टै क्षेत्र तोकेर एकै ठाउँबाट वितरणको व्यवस्था गर्नु उपयुक्त हुने विचार व्यक्त गरे ।

ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष वसन्त गौचनको सभापतित्व र पुर्व कृषिमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य छविलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा रुपन्देही उद्योग संघका नवनिर्वाचित अध्यक्ष गणेशप्रसाद अधिकारी लगायतले बोलेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष गौचनले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै चीन र भारतबाट आयात हुने हलुका खालका रेगुलेटर र चुला, पाइप, लाइटरका कारण नेपाली उपभोक्ताहरु असुरक्षित रहेको भन्दै संघले सबै व्यवसायीहरुको लगानिमा मेनुअल रेगुलेटर उद्योग सञ्चालन गर्ने प्रस्ताव राखेका थिए ।

– चन्द्रकान्त खनाल