पूर्वपत्नीसँग पुनः विवाह गर्दै ऋतिक !

पूर्वपत्नीसँग पुनः विवाह गर्दै ऋतिक !


‘वल्र्ड हेन्डसम हङ्क’ नामले परिचित बलिउड स्टार ऋतिक रोशन यतिबेला विशेष चर्चामा छन् । रोशन आफ्नो फिजिकल फिटनेस र फिल्मका कारण नभई विवाह–सन्दर्भले चर्चामा आएका हुन् । ऋतिकले डिभोर्स गरिएकी पूर्वपत्नी सुजैन खानसँग फेरि बिहे गर्न लागेको खबरले बलिउडमा सनसनी फैलाएको छ । उनको विवाहको चर्चासँगै रोशन परिवार र खान परिवारबीच बढेको दूरीको अन्त्य हुने सम्भावना बढेर गएको छ ।

ऋतिकसँग विवाह गर्न बलिउड अभिनेत्रीदेखि विभिन्न टप मोडलहरूसम्म तयार रहेको परिवेशमा फेरि सुजैनसँग हुने कुरा चर्चाको विषय बन्नु अस्वाभाविक पनि होइन । रोशन परिवारले ऋतिक–सुजैनका दुई सन्तानका कारण ऋतिकलाई दोस्र्रोपटक पूर्वपत्नीसँग बिहे गर्ने मञ्जुरी दिनु पनि अनौठो होइन । यसरी, उनीहरूका सन्तान नै ऋतिक–सुजैनबीच दोस्रोपटक विवाह गर्नुको प्रमुख कारण भएको बुझिन्छ ।

दुवै परिवारलाई नाबालक बच्चाहरूले दबाब दिइरहेका छन् र पनि ऋतिकसँग दोहो¥याएर बिहे गर्न रोशन परिवारले मन्जुरी दिए पनि खान परिवारबाट अहिलेसम्म यसबारेमा कुनै प्रतिक्रिया आएको छैन । तथापि, खान परिवारले समेत यस विषयलाई गम्भीर रूपमा लिएकाले विवाह हुन सक्ने सम्भावनाचाहिँ देखिएको छ । ऋतिक र सुजैनले नै दोहो¥याएर बिहे गर्ने सोच बनाइसकेपछि ‘मियाबिबी राजी तो क्या करेगा काजी’ भन्ने कथन लागू हुने देखिएको छ । यी चर्चित व्यक्तित्व कहिलेसम्ममा वैवाहिक बन्धनमा बाँधिने हुन्, यसको ठोस सङ्केत मिलिसकेको छैन । यस कुरालाई गोप्य नै राखिएको छ ।

सन् २०१३ देखि ऋतिक र सुजैन छुट्टाछुट्टै बस्दै आएका थिए । अलग बस्न थालेको एक वर्षपछि अर्थात् २०१४ मा सम्बन्धविच्छेद भएको थियो । सम्बन्धविच्छेद भए पनि बच्चाका कारणले समय–समयमा एक–अर्कालाई भेट्दै आएका थिए । लङ ड्राइभदेखि, विदेश भ्रमण र पार्टीमा समेत उनीहरू सँगै जाने गरेका थिए । वास्तवमा यो जोडी सम्बन्धविच्छेद गरेको जोडीजस्तो देखिँदैनथ्यो ।

भरतीय मिडियाहरूका अनुसार ऋतिक र सुजैनको सम्वन्धविच्छेदका कारण बच्चाहरूमा मनोवैज्ञानिक असर पर्दै गएको छ । दुवै छोराहरू रिहान र रिदान यतिबेला निकै उदास देखिएका छन् । उनीहरू अन्य व्यक्तिसँग राम्रोसँग घुलमिल हुन सकेका छैनन् । उनीहरूको पढाइमा समेत बाबुआमाको डिभोर्सले नराम्रो असर पारेको छ । प्रायजसो उदास देखिने रिहान र रिदानको यस्तो मनोदशा देखेर ऋतिकले सुजैनसँग विवाह गर्ने मन बनाएका हुन् । सुजैन पनि यसमा सकारात्मक देखिएकी छिन् ।

ऋतिक र सुजैनले सम्बन्धविच्छेद गरे पनि दुवै अविवाहित अवस्थामै छन् । अर्थात्, चार वर्षको अन्तरालमा दुवैले गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड बनाए, तर विवाहचाहिँ गरेनन् । ऋतिकको बलिउड अभिनेत्री कंगना रानावतसँगको सम्बन्धले त बलिउड नै तताएको थियो भने सुजैनको पनि बलिउड अभिनेता जोन अब्राहमसँग सम्बन्ध रहेको चर्चा चलेको थियो । तर, दुवैको यो विषयले विश्राम लिइसकेको छ । त्यसैले पनि उनीहरूबीच पुनः विवाह हुने सम्भावना बढेर गएको छ ।