पार्टी एकतालाई मूर्त रुप दिने भन्दै आज प्रचण्ड निवास खुमलटारमा जुटेका एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र प्रमुख प्रचण्ड अन्ततः राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउने सहमति गर्दै छुट्टिएका छन् । पाँच घण्टा एक्लाएक्लै वार्ता गरे पनि पार्टी एकीकरणको विषय भने जस्ताको तस्तै रहेको बुझिएको छ । तथापि, पार्टी एकतालाई शीघ्र निष्कर्षमा पु¥याउने सहमति भने उनीहरुले दोहोर्याएका छन् ।
राष्ट्रियसभा निर्वाचनको मिति नजिकिएकाले सबैभन्दा पहिले त्यसलाई सफल बनाउने र प्रदेशका मुख्यमन्त्रीको विषयमा संयुक्त कार्यदलले तयार पार्ने प्रतिवेदनका आधारमा निर्णय गर्न दुई पार्टीका अध्यक्ष तयार भएका हुन् ।
नयाँ सरकार गठन, पार्टी एकताबारे छलफल भए पनि आजै निष्कर्षमा नपुगिएको ओलीको सचिवालय सुत्रले जनाएको छ । बताइएअनुसार छलफल जारी राख्दै शीघ्रातिशीघ्र पार्टी एकतालाई तार्किक निष्कर्षमा पु¥याउन अध्यक्षद्वय सहमत भएका छन् । पार्टी एकता, प्रदेशका मुख्यमन्त्रीका विषयमा छलफल भए पनि कार्यदलले टुङ्ग्याएर ल्याउने प्रस्तावलाई अनुमोदन गर्ने सहमति पनि दुई नेताबीच भएको छ ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका विषयमा सांगठनिक र वैचारिक विषयमा रहेका केही मतभेदमा सामान धारणा बनाउने क्रम जारी रहेको बताइन्छ । सो विषयमा गत शुक्रबार र शनिबार समेत अध्यक्षद्वयकाबीच एक्लाएक्लै छलफल भएको थियो ।
प्रतिक्रिया