शिवरात्रिको आगमनसँगै ‘गाँजा-भाङ’ सम्झेर रमाउने दिन टाढिँदै

शिवरात्रिको आगमनसँगै ‘गाँजा-भाङ’ सम्झेर रमाउने दिन टाढिँदै


महाशिवरात्रिको आगमनसँगै गाँजा–भाङजस्ता नशालु पदार्थ सेवन गर्ने तयारीमा रम्ने युवा वर्ग वर्षेनी बढ्दो छ । यसरी धार्मिक पर्वलाई नै विकृत तुल्याउने गरी गलत परम्पराले जरो गाड्न थालेपछि सरोकारवाला निकाय यस विसंगति अन्त्यका लागि जुर्मुराउन लागेको अनुभूति गरिएको छ । फलस्वरुप विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई गाँजा, भाङ, धतुरो निषेध गरी ध्यान, योग साधना स्थलका रुपमा स्थापित गरिने तयारी आरम्भ भएको छ ।

पशुपति क्षेत्र विकास कोषले यस वर्षको महाशिवरात्रिको अवसर पारेर यो अभियान शुरु गरेको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। गाँजा बेच्ने र सेवन गर्ने सुरक्षित स्थलका रुपमा प्रयोग गरिँदै आएको पशुपतिको सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर नजिकको पीपलबोटलगायत क्षेत्रमा दैनिक सुरक्षा गस्ती गरी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने गरिएको छ ।

गत मंसिर तेस्रो सातादेखि कोषको नेतृत्वमा महानगरीय प्रहरी वृत्त गौशाला, सशस्त्र प्रहरी बल पशुपति मन्दिर वेसक्याम्पलगायत सरोकार भएका निकायको संलग्नतामा बिहान, दिउँसो र बेलुकी तीनपटक गस्ती गरी लागुपदार्थ सेवन एवं बेचबिखनमा संलग्नलाई रंगेहात पक्राउ शुरु गरिएको हो ।

सदस्यसचिव डा. प्रदीप ढकाल भन्छन्, ‘राममन्दिर क्षेत्रका केही साधुको जटाबाट समेत गाँजा बरामद गरिएको छ, भष्मेश्वर अखडाका साधुलाई प्रहरी कारबाही भएको छ, यसक्रममा प्रहरीले धारिला चक्कु र तरबार बोक्ने एवं संकलन गरेर राख्नेलाई पनि कारबाही गरिएको छ, साधुको आडमा पशुपति क्षेत्रमा गाँजाको व्यापार हुन दिइन्न, यस्तो व्यापारले प्रत्येक वर्ष १० हजार युवा लागुऔषध जस्तो कुलतमा फस्ने गरेका छन् ।’

राज्यले वैधानिक रुपमा प्रतिबन्ध लगाएपनि शिवरात्रिमा गाँजा, भाङ, धतुरोजस्ता लागुपदार्थ सेवन आरम्भ गर्ने दिनका रुपमा मनाउन खोज्ने गलत चलनलाई अन्त्य गर्न लागिएको कोषको भनाई छ । श्रीपञ्चमीलाई विद्या आरम्भ गर्ने दिनका रुपमा लिएजस्तै शिवरात्रिलाई गाँजा आरम्भ गर्ने दिनका रुपमा नलिन युवा वर्गलाई कोषले अनुरोध गरेको छ ।

लागुपदार्थको बढी प्रयोग हुने सूर्यघाट, मृगस्थली जंगल, गोपालबाबा आश्रम, राममन्दिर परिसर, राजराजेश्वरी नहर क्षेत्रलाई ध्यान, योग केन्द्रका रुपमा विकास गरी धार्मिक एवं आध्यात्मिक वातावरण बनाउने काम शुरु गरेको जनाइएको छ । यसका लागि ध्यान, योग क्षेत्रमा क्रियाशील संघ संस्थासँग सहकार्य गरेर पशुपति क्षेत्रलाई साधनास्थलका रुपमा विकास गर्ने कोषको लक्ष्य छ ।

यसबाट खराब लतमा लागेका युवालाई सत्मार्गमा ल्याउन सहयोग पुग्ने बताइन्छ । साथै पशुपति क्षेत्रलाई धुम्रपान, मांस, मदिरा बिक्री वितरण एवं ओसारपसार गर्न समेत निषेध गरिएको छ । अभियान शुरु गरिएको डेढ महिनाको अवधिमा लागुपदार्थ सेवन, बेचबिखन र आपराधिक क्रियाकलापमा संलग्न २७९ व्यक्तिलाई पक्राउ गरिएको प्रहरी वृत्त गौशालाले जनाएको छ ।

बताइएअनुसार यस वर्षको शिवरात्रिदेखि पशुपति वनकालीमा मेला एवं बजार पनि नराखिने भएको छ । गत पुस ९ गतदेखि पशुपति क्षेत्रका महत्वपूर्ण स्थलमा सवारी साधन निषेध गरी वनकालीमा पार्किङ गरिएकाले बजार र मेला नराखिने भएको हो ।