छविलाल बगाले
खुलेआम ठगी गरेको तथ्य फेला परेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले राज्यलाई कर तिरेको छु भन्दैमा उपभोक्ता ठग्न नपाइने बताएका छन् । घटना र बिचारसँग कुरा गर्दै महानिर्देशक दाहालले उपभोक्ता ठग्ने बिरुद्ध विभाग खुलेर लागेको बताएको छन् ।
राजधानीको थापाथलीस्थित जिओ अटोमोबाइल्स प्रालिले बजारमा ल्याएको ‘इको स्पोर्ट फोर्ड’ गाडीमा उपभोक्ताको ढाडै सेक्ने गरी खुलेआम ठगी गरेपछि विभागले अनुगमन गरेको हो । अनुगमनका क्रममा जिओ कम्पनीका गाडीहरू खरिद मुल्यभन्दा ८ गुणा बढी मूल्यमा बेचेर उपभोक्तालाई ठगी गरेको भेटिएको महानिर्देशक दाहाल बताउँछन् ।
‘सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओले बिक्री गर्ने चारपांग्रे सवारीसाधनमा वास्तविक मूल्यमा अतिरिक्त शुल्क लिएर उपभोक्तालाई छुटको भ्रम छरी ग्राहकबाट अनाधिकृत रुपमा बढी रकम असुल्ने गरेको छ ।’ उनले भने, ‘ईको स्पोर्ट फोर्ड १ दशमलव ५ पेट्रोल गाडीको लागतभन्दा बढी मूल्य लिएको छ । राज्यलाई कर तिरेको छु भन्दैमा उपभोक्ताको ढाड सेक्ने गरी रकम असुल्नु खुलेआम लुट मच्चाउन कसैलाई पनि छुट छैन् ।’
उनका अनुसार २२ लाख कम्पनी मूल्य रहेको गाडीलाई २८ लाखसम्म बिक्री गरिएको छ । ‘कम्पनीले एउटै गाडीमा अतिरिक्त मुल्य जोडेर कम्पनीले ग्राहकसँग ६ लाख रुपैयाँ बढी लिदैं आएको छ ।’ महानिर्देशक दाहाल भन्छन्, ‘विभागले वास्तविक मूल्यभन्दा बढी बिल जारी गर्नुको कारण स्पष्ट हुन नसकेको, वास्तविक मूल्यभन्दा बढी मूल्य लिएर कम्पनीले ग्राहकलाई भारी छुटको भ्रम छर्दै आएकोले राज्यको नियम कानुनको धज्जी उडाएको जनाएको छ ।’
कम्पनीले हरेक ग्राहकलाई गाडी खरिदमा विज्ञापन खर्च, प्रशासनिक खर्च, कर्मचारी तलब खर्च, पेट्रोल, मोबिल, हिटर फिटिङ, एक्ससरिज डेलिभरिजस्ता शीर्षकमा थप रकम असुल्ने गरेको छ । यो सँगै कम्पनीले उपभोक्तालाई बैंक ब्याज, गाडी बिक्री हुनु अघि शोरुममा पार्क गरेको शुल्कसमेत उपभोक्तालाई तिराउदै आएको पाइएको छ ।
प्रतिक्रिया