मुलुकको कानुन अस्वीकार्य, डलर स्वीकार्य

मुलुकको कानुन अस्वीकार्य, डलर स्वीकार्य


दुई वर्षअघि अर्थात् ०६७ असोजमा सर्वोच्च अदालतले ध्रुवबहादुर प्रधानले नेतृत्व गरेको नेपाल ओलम्पिक कमिटीलाई अवैधानिक भएको फैसला सुनाएको थियो । त्यसपछि ओलम्पिक विवादले शिखर छोए पनि समाधान भने अहिलेसम्म हुन सकेको छैन । ओलम्पिक विवादको समाधानका लागि तत्कालीन समयमा सरकार र राखेपले कुनै चासो नदिनु र मुलुकको सङ्क्रमणकालीन अवस्थाले गर्दा यो मुद्दा पछिल्लो समयमा अझ जटिल बन्दै गएको थियो । अझ समय–समयमा सरकार र राखेपले सर्वोच्चको फैसलालाई आत्मसात् गर्नुभन्दा त्यसको विरुद्धमा आफूलाई प्रस्तुत गर्नुले सर्वोच्चको आदेश ओझेलमा परेको थियो । निकासको नाममा सरकार र राखेपले अवैधानिक ओलम्पिक कमिटीसँग पुच्छर जोडेपछि सर्वोच्चको प्रतिष्ठासमेत दाउमा लागेको थियो ।
केही साता पहिले राष्ट्रिय खेलकुद परिषद्को ९३औँ बोर्ड बैठकले दुवै ओलम्पिक कमिटीलाई विघटन गर्ने निर्णय गरेको थियो । पछि आफ्नो निर्णयलाई सच्याउँदै राखेपले दुवै ओलम्पिक कमिटीलाई निलम्बन मात्र गरेको जनाएको थियो । स्मरण छ, सर्वोच्चको फैसलाअनुरूप राणा र अन्तर्राष्ट्रिय मान्यताअनुरूप प्रधानको एनओसीलाई राखेपले विघटन गर्न मिल्दैन अर्थात् सक्तैन । तसर्थ सदाका लागि ओलम्पिक विवादलाई समाप्त गर्न र मुलुकमा एउटै प्रभावशाली ओलम्पिक कमिटीको निर्माण गर्न कम्मर कसेको बेलामा गत साता सर्वोच्चले युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई पत्राचार गरेको थियो । सो पत्रमा सर्वोच्चले विगतमा गरेको फैसलाको कुनै जवाफ प्राप्त नभएको र उक्त आदेश कार्यान्वयन भए–नभएको यथाशीघ्र जानकारी गराउन निर्देशन दिएको थियो । साथै यथाशीघ्र सर्वोच्चको आदेशको पालना र कार्यान्वयन गर्न पनि भनिएको थियो ।
प्रधान नेतृत्वमा रहेको ओलम्पिक कमिटीमा कसरी धावा बोल्न सकिन्छ भन्ने वैधानिक बाटोको खोजीमा लागेको राखेपका लागि सवोच्चको निर्देशन अहिले ‘के खोज्छस् कानो आँखो’जस्तै भएको छ । राखेपले ओलम्पिक कमिटीको विवादलाई समाधान गर्न सर्वोच्चको निर्देशनलाई अक्षरश: पालना गर्ने बताएको छ । ओलम्पिकको विवादले मुलुकको बेइज्जत भएको, समग्र खेलकुदलाई विवादमा तानेको र खेलाडीमा गलत सन्देशको प्रभाव गरेको पनि राखेपले खुलासा गरेको छ । तसर्थ क्यान्सरको रूपमा नेपाली खेलकुदमा विकास भइरहेको यो समस्यालाई काटेर फ्याँक्न राखेपले कठोरभन्दा कठोर निर्णय लिनेसमेत प्रस्ट पारेको छ । जसका लागि भविष्यमा आउने सक्ने चुनौती अर्थात् ‘प्रतिबन्ध’को पनि राखेपले डटेर सामना गर्ने प्रतिबद्धता जाहेर गरेको छ । तसर्थ राखेपले सर्वोच्चले वैधानिकता प्रदान गरेको रुक्मशमशेर राणाले नेतृत्व गरेको ओलम्पिक कमिटीसँग छलफल अगाडि बढाएको छ । त्यस्तै राणाको नेतृत्वमा रहेको ओलम्पिक कमिटीले वर्तमान अवस्थामा सतहमा पुगेको एनओसीको विवादलाई किनारामा पुर्‍याउन हालै विशेष साधारणसभाको आयोजना गरेको छ । साथै उक्त साधारणसभाले राखेपसँग हातेमालो गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।
ओलम्पिक विवादले पराकाष्ठा नाघेपछि राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाले प्रधानले नेतृत्व गरेको एनओसीलाई ‘नकचरो’को संज्ञा दिएका छन् । लामाले नकचरोको औषधि नहुने भए पनि राखेपले त्यसको इलाज गर्ने खुलासा गरेका छन् । नकचरोहरूले अब जतिसुकै अन्तर्राष्ट्रिय मान्यताको धाक लगाए पनि त्यसको कुनै तुक नरहेको प्रस्ट पारेका छन । राखेप अहिले यो विषयमा निकै गम्भीर भएको र यसका लागि गृहकार्यमा समेत जुटेको बताए । कानुनी हैसियत नभएको प्रधानको एनओसीलाई सर्वोच्चको निर्देशनअनुसार वैधानिक तरिकाले नै पाखा लगाउने लामाले दाबी गरे । डलरको उन्मादमा मुलुकका कानुनलाई अपहेलना गर्नेहरूलाई त्यसै छोड्न नमिल्ने र कसरी साइजमा ल्याउने कुरामा राखेप प्रतिबद्ध रहेको सुनाए । कसरी न्यायको कठघरामा उभ्याउन सकिन्छ भन्ने कुरामा यतिबेला राखेप केन्द्रित रहेको लामाले प्रस्ट पारे । सर्वोच्चको निर्देशन शिरोधार्य गर्ने क्रममा केही बाधा अड्चन अवश्य आउने कुरालाई स्वीकार्दै लामाले त्यसबाट आफू किञ्चित विचलित नभएको प्रस्ट पारेका थिए ।
त्यस्तै राणा नेतृत्वको विशेष साधारणसभाको उद्घाटन गर्दै सदस्यसचिव लामाले राष्ट्रिय सङ्घहरूको सहभागितामा हुने निर्वाचनले मात्र एनओसीको विवाद समाप्त हुने प्रस्ट पारेका छन् । प्रधानको एनओसीले ओलम्पिक चार्टरको गलत व्याख्या गरेको आरोप लगाउँदै आफ्नो सजिलोका लागि मात्रै प्रयोग गरेको बताए । ओलम्पिक चार्टरअनुसार राष्ट्रिय सङ्घहरूको निर्वाचन नभएको खुलासा गर्दै त्यो हुनुपर्छ कि पर्दैन प्रतिप्रश्न गरे । मुलुकको कानुन नमान्ने तर अन्तर्राष्ट्रियको धाक लगाएर मुलुकको कानुनको मानमर्दन गर्नेले के हैसियतले मुलुकमा कार्य सञ्चालन गर्ने ? मुलुकको कानुन नमान्नेले मुलुकमा कार्यालय मात्र नभई कुनै पनि खेलकुदका गतिविधि सञ्चालन गर्न नपाउने भन्दै प्रधानलाई रक्सोल र तिब्बत गएर कार्यालय खोल्न सुझाव दिएका थिए । साथै लामाले अन्तर्राष्ट्रिय मान्यताका आधारमा मुलुकको कानुनलाई चुनौती दिन प्रधानलाई चुनौती दिएका थिए ।
त्यस्तै सर्वोच्चबाट मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका अध्यक्ष रुक्मशमशेर राणाले सबैलाई मिलाएर एउटै शक्तिशाली ओलम्पिक कमिटी बन्नुपर्नेमा जोड दिएका छन् । राणाले राखेपको सोच राम्रो भएको प्रस्ट पार्दै त्यसको प्रशंसा पनि गरेका छन् । तर, हामीमाथि जुन अन्याय भएको थियो, जुन ओलम्पिक चार्टरको विरुद्धमा थियो त्यसलाई राखेपले सच्याउनुपर्ने दाबी गरे । राणाले तत्कालीन समयमा जीवनराम श्रेष्ठले शक्तिको आडमा ओलम्पिक चार्टरको मर्मविपरीत कार्य गरेको ठोकुवा गर्दै आठवटा सङ्घ विघटन गरेको आरोप लगाएका छन् । त्यो गलत कार्य भएको प्रमाण राखेपसँग खुद भएकोले ती विघटित सङ्घहरूलाई पुनर्जीवित गर्नुपर्ने दलिल पेस गरेका छन् । तत्पश्चात् आफूहरू निर्वाचन वा छलफल जेबाट पनि अगाडि बढ्न तयार रहेको प्रस्ट पारेका छन् । त्यस्तै राणाले सर्वोच्च आदेशबमोजिम एनओसीको सम्पूर्ण सम्पत्ति खेलकुद मन्त्रालय र राखेपबाट हस्तान्तरण हुनुपर्ने माग गरेका छन् ।
यथाशीघ्र सर्वोच्चको आदेशको पालना र कार्यान्वयन गर्नसमेत भनिएकोले अब राखेपको बोर्ड बैठकले आफंैले गरेको निर्णयको पालना गर्छ या गर्दैन त्यो हेर्नलायक भएको छ । उक्त बोर्ड बैठकले प्रधानको ओलम्पिक कमिटीलाई निलम्बन गर्ने निर्णय गरेको थियो । तर, अहिलेसम्म कार्यान्वयन गरेको छैन । के बोर्डको बैठकले गरेको निर्णयको कुनै अर्थ छैन यो सोचनीय कुरा बनेको छ । त्यस्तै छानबिन समितिले खेलकुदका विभिन्न सङ्घहरूमा आर्थिक पारदर्शिताका लागि पत्राचार गरे पनि अहिलेसम्म एउटै सङ्घले पनि हिसाबकिताब बुझाउन त परै जाओस् सामान्य पत्राचारसमेत गरेका छैनन् । यसरी छानबिन समितिलाई सङ्घहरूले अटेर गरेपछि राखेपले खुद पत्र काट्ने तयारी गरेको छ । जसले सङ्घहरूलाई आफ्नो मातहतमा ल्याउन र ओलम्पिक कमिटीको विवादलाई साम्य गर्नमा सहयोग पुग्ने राखेप सूत्रले बताएको छ ।

सपनाको उपमा पाउँदै सकियो लण्डन ओलम्पिक
सपनाको उपमा पाउँदै ३०औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । ओलम्पिक खेलकुदको तीन संस्करण सफलताका साथ आयोजना गरेर वेलायतले ह्याट्रिक गरेको छ । आतङ्कवादीको हमलाको शङ्कादेखि विभिन्न उतारचढावबीच आयोजना भएको लण्डन ओलम्पिक अन्त्यमा आफ्नो अमिट छाप छोड्दै भव्यताका साथ सम्पन्न भएको छ । विश्वमा आपसी प्रेम र भाइचारा अभिवृद्धि गर्न प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिक खेलको ३०औँ संस्करणले पनि आफ्नो उद्देश्यमा खरो उत्रिएको छ । जसका लागि बेलायत धन्यवादको पात्र बनेको छ ।
लण्डन ओलम्पिक २०१२ मा विश्वका विभिन्न खेलाडीले विश्वकीर्तिमान र ओलम्पिक कीर्तिमान कायम गरेका छन् । यो विश्वकपमा स्थापित भएका कीर्तिमानलाई मध्यनजर गर्दा लण्डन ओलम्पिकलाई अहिलेसम्मकै सफल ओलम्पिकको रूपमा गणना गरिएको छ । यही प्रसङ्गलाई कोट्याउँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष ज्याक रगले लण्डन ओलम्पिकलाई खेलप्रेमी र खेलाडीको सपनाको उपमा दिएका छन् । रगले अहिले लण्डन ओलम्पिकको हरेक पक्षको प्रशंसा भइरहेको बताउँदै म आयोजकलाई धन्यवाद दिन चाहन्छु भने । यो वास्तममै उत्कृष्ट आयोजना हो, म अत्यन्तै खुसी छु । रगले लण्डनले खेलाडीहरूलाई उत्साहित र अनुशासित बनायो त्यो ओलम्पिकका लागि ठूलो उपलब्धि हो ।
लण्डन ओलम्पिक २०१२ मा विश्वका थुप्रै राष्ट्रले सहभागिता जनाए पनि संयुक्त राज्य अमेरिकाले सबैभन्दा बढी पदक जितेर प्रथम स्थान हासिल गर्न सफल भएको छ । यो ओलम्पिकमा अमेरिकाले ४६ स्वर्ण, २९ रजत र २९ कास्यसहित कुल १०४ पदक जितेको थियो । त्यस्तै दोस्रो स्थान एसियाली राष्ट्र चीनले हासिल गरेको छ । ओलम्पिक खेलमा नयाँ शक्तिको रूपमा उदाएको चीनले यो ओलम्पिकमा ३८ स्वर्ण, २७ रजत र २२ कास्य गरी कुल ८७ पदक जितेको थियो । यसैगरी आयोजक राष्ट्र बेलायतले आफ्नो आयोजनालाई सार्थक तुल्याउँदै तेस्रो स्थान हात पारेको थियो । बेलायतले कुल ६५ पदक जित्ने क्रममा २९ स्वर्ण, १७ रजत र १९ कास्य पदक जितेको थियो । त्यस्तै रुस चौथो, दक्षिण कोरिया पाँचौँ, जर्मनी छैटौँ, फ्रान्स सातौँ, इटाली आठौँ, हङ्गेरी नवौँ र अस्ट्रेलियाले दशौँ स्थान रहेका थिए । लण्डन ओलम्पिकमा दक्षिण एसियाली राष्ट्रहरूमा भारतले ६ वटा पदक जित्न सफल भएको छ । भारतले ओलम्पिक खेलमा जितेको यो सबैभन्दा बढी पदक हो । भारतले स्वर्ण पदक जित्न नसके पनि दुई रजत र चार कास्य पदक जितेको थियो । त्यस्तै अफगानिस्तानले पनि एउटा कास्य पदक जितेर आफ्नो उपस्थितिलाई सार्थक तुल्याएको थियो । लण्डन ओलम्पिकमा नेपालले तीन खेलमा सहभागिता जनाए पनि नेपाली खेलाडी पहिलो चरणमै पराजित भएका थिए ।
लण्डन ओलम्पिकको समापनसँगै ओलम्पिकको झन्डा ब्राजिललाई हस्तान्तरण गरिएको थियो । आगामी सन् २०१६ को ओलम्पिक ब्राजिलले आयोजना गर्दै छ । ब्राजिलले आफूले पाएको पहिलो अवसरलाई अविष्मरणीय बनाउन सन् २००८ देखि नै तयारीमा जुटेको छ ।

युवाको भूमिका महत्वपूर्ण : उपराष्ट्रपति झा
उपराष्ट्रपति परमानन्द झाले मुलुकको आर्थिकलगायत विभिन्न क्षेत्रको विकासका लागि युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । १३औँ अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्ष्यमा युवा तथा खेलकुद मन्त्रालय, मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा उपराष्ट्रपति झाले सो कुरा बताएका हुन् । उपराष्ट्रपति झाले देशमा पर्याप्त रोजगारीको अवसर नभएकाले युवा विदेश पलायन हुने क्रम वृद्धि भइरहेको बताउँदै यस्तो हुन नदिन उचित कदम चाल्नुपर्नेमा जोड दिएका थिए । झाले युवाहरूको समस्यालाई सम्बोधन गर्न केही पहल भए पनि पर्याप्त नभएको धारणा व्यक्त गर्दै युवाहरूलाई विदेश पलायन हुनबाट जोगाउनु मुख्य चुनौती भएको विचार व्यक्त गरेका थिए । युवा तथा खेलकुद मन्त्रालयका सचिव सुशील घिमिरेले देशको आर्थिक, सामाजिक तथा सांस्कृतिक परिवर्तनमा युवाहरूको भूमिका महत्वपूर्ण रहँदै आएको बताउँदै युवाहरूलाई देशमै बस्ने वातावरण सिर्जना गर्न अत्यावश्यक भएको धारणा राखेका थिए ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. अब्दुर रहिमले युवाहरूको विकाससम्बन्धी कार्यक्रममा आयोगले प्राथमिकता दिँदै आएको बताउँदै युवाहरूलाई मूल प्रवाहमा ल्याई राष्ट्रिय निर्माणको विकासमा साझेदार बनाउन दीर्घकालीन योजना ल्याउन आवश्यक रहेको बताउनुभयो । यो वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नारा ‘युवासँगको साझेदारीमा समृद्ध नेपालको निर्माण’ रहेको छ । सन् १९९९ देखि अगस्ट १२ का दिन हरेक वर्ष अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आइरहेको छ । नेपालमा भने सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको हो ।

राष्ट्रिय मार्सल आर्ट महोत्सव हुने
नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासङ्घको आयोजनामा प्रथम राष्ट्रिय मार्सल आर्ट महोत्सव असोज पहिलो साता हुने भएको छ । असोज ४ देखि ६ गतेसम्म हुने महोत्सवमा महासङ्घमा आबद्ध विभिन्न १५ खेल सङ््घमध्ये आठ खेलको प्रतिस्पर्धा हुने महासङ्घका अध्यक्ष स्वयम्भूराज डङ्गोलले जानकारी गराए । अन्य सातको भने प्रदर्शनी खेल हुने बताइएको छ । महोत्सवको दुई दिनअघि विभिन्न पाँच खेलको राष्ट्रिय टेक्निकल सेमिनार पनि हुनेछ ।
प्रतिस्पर्धा हुने खेलहरूमा तेक्वान्दो (आईटीएफ), प्यानक्रेसन एथ्लिमा, जितकुण्डो, किकबक्सिङ, साम्बो, गोर्खा एक्सन, सोरिन रियु कराते तथा उमा कुङ्फु रहेका छन् ।
प्रतिस्पर्धा हुने सबै विधामा कुल ९० स्वर्ण, ९० रजत तथा एक सय ८० कास्यका लागि नौ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । महोत्सवको अवलोकन गर्न भारत, बंगलादेश, मलेसिया, डेनमार्क, जोर्डन, बेलायत, अमेरिका, अस्ट्रेलिया तथा क्यानडाबाट प्रतिनिधि आउने महासङ्घले जनाएको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने महोत्सवको अनुमानित बजेट ३५ लाख रुपैयाँ रहेको छ । महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घका अध्यक्ष एवम् आयोजक महासङ्घका उपाध्यक्ष कुमार थापाको संयोजकत्वमा ५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ ।

पिस कोप्र्स तालिम सम्पन्न
ललितपुर जिल्ला तेक्वान्दो सङ्घद्वारा आयोजित पिस कोप्र्स तालिम सम्पन्न भएको छ । साताव्यापी तालिममा दुई सय खेलाडीको सहभागिता रहेको थियो । यसअघि काठमाडौं र भक्तपुरका खेलाडीलाई लक्षित गरी यस्तै प्रकारको तालिम आयोजना गरिएको थियो । काठमाडौंको तालिममा एक सय १३ तथा भक्तपुरमा ८५ खेलाडीले सहभागिता जनाएको तालिम संयोजक तेक्वान्दो प्रशिक्षक अर्जुन विकले जनाएका छन् । विश्व तेक्वान्दो महासङ्घअन्तर्गत पिस कोप्र्स फाउन्डेसनबाट चार दक्षिण कोरियाली प्रशिक्षकले सहभागीलाई प्रशिक्षित गराएका थिए । उक्त तालिम दोस्रो चरणको हो । गत वर्ष पहिलो चरणको तालिम काठमाडौं र पाँचै विकास क्षेत्रमा सञ्चालन गरिएको थियो ।
नेपाली काङ्ग्रेस केन्द्रीय खेलकुद विभाग प्रमुख एवम् केन्द्रीय सदस्य धनराज गुरुङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, राखेपका पूर्वसदस्य निरक खड्का, राखेप कर्मचारी सङ्घका अध्यक्ष नारायणदेव राणा, नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशमशेर राणालगायतले सहभागीलाई प्रमाणपत्र वितरण गरे । कार्यक्रममा बोल्दै खेलकुद विभाग प्रमुख गुरुङले राज्यले खेलकुदलाई प्राथमिकतामा राख्न नसकेकाले राम्रो नतिजा आउन नसकेको बताउँदै खेलकुदको नेतृत्वमा आउन चाहनेले खेलकुदलाई दरिलो बनाउने योजना लिएर आउनुपर्ने सुझाव दिएका थिए । प्रमुख गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो नतिजा हासिल गर्ने हो भने खेलकुदलाई स्कुल, कलेज तथा विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै, पूर्वकोषाध्यक्ष महर्जनले अन्य खेलको तुलनामा राष्ट्रको प्रतिष्ठा अभिवृद्धि गर्ने खेलमध्ये तेक्वान्दो अग्रपङ्क्ति रहेको धारणा व्यक्त गरे ।

कृष्णमानलाई आर्थिक सहयोग
नसासम्बन्धी रोगबाट पीडित बक्सिङ प्रशिक्षक एवम् पूर्वखेलाडी कृष्णमान श्रेष्ठको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । मकाउमा विभिन्न क्षेत्रमा कार्यरत नेपाली बक्सिङ खेलाडी तथा खेलप्रेमीबाट सङ्कलित जम्मा दुई लाख १९ हजार सात सय ५७ रुपैयाँ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव युवराज लामाले श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरणपछि सदस्यसचिव लामाले कृष्णसहित अन्य चारजनाको उपचार खर्चका लागि राखेपले क्याबिनेटमा सिफारिस गरिसकेको जानकारी गराउँदै रकम आउन ढिला भएकोले तत्काल सहयोग उपलब्ध गराउन नसकिएको बताएका थिए । सदस्यसचिव लामाले रकम निकासाका लागि गम्भीरतापूर्वक पहल भइरहेको बताएका छन् ।
कृष्णको उपचारका लागि यसअघि बक्सिङ सङ्घले ८६ हजार, राखेपमा कार्यरत करार कर्मचारीले ७६ हजार तथा नक्साल युवा मण्डलले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । चिकित्सकले कृष्णलाई भारतमा उपचार गर्न सुझाव दिएका छन् । उनको उपचारका लागि करिब नौ लाख खर्च हुने नेपाल बक्सिङ सङ्घका महासचिव दीपक गुरुङले बताए । महासचिव गुरुङले लन्डनमा रहेका नेपाली खेलप्रेमीबाट पनि सहयोग रकम उठाउन आफूले पहल गरिरहेको बताउँदै केही दिनमै रकम प्राप्त हुने जनाए । करिब दर्जन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका कृष्णले दक्षिण एसियाली महासङ्घीय खेलकुदको पाँचौँ संस्करणमा रजत तथा सातौँमा कास्य जितेका थिए । कृष्णले सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै चाँडै निको भएर खेलमा फर्कन चाहेको बताए ।

टेटेमा मणि, पूर्णिमा र सुनिता च्याम्पियन
एभीएमका मणि लामाले तेस्रो कृष्णध्वज स्मृति आमन्त्रण उपत्यकाव्यापी अन्तरकलेज तथा विद्यालयस्तरीय टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ ब्वाइज सिंगल्सको उपाधि जितेका छन्् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा मणिले प्राइमका प्रदीप रोकालाई सीधा सेटमा ११–८, १७–१५ र ११–४ ले पराजित गरे । स्कुलतर्फ गल्र्स सिंगल्सको सिनियरमा जगतसुन्दर बोनेकोटीकी पूर्णिमा शाक्य तथा जुनियरमा चिल्ड्रेन गार्डेन एकेडेमीकी सुनिता थापा पहिलो भएका थिए । डार्क हर्स प्रोडक्सनद्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइज सिंगल्समा चिल्ड्रेन गार्डेनका रवि थापाले स्वर्ण जिते । सोही स्पर्धाको जुनियरमा मोर्डन इन्डियन स्कुलका अवसर बानियाँले बाजी मारेका थिए । साउन २२ गतेदेखि सुरु प्रतियोगिताको कलेजतर्फ एक सय ७५ तथा स्कुलतर्फ दुई सय गरी तीन सय ७५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । स्कुलतर्फ १२ र कलेजमा सात गरी कुल १९ स्वर्णका लागि भिडन्त भएको थियो ।
-श्रीविक्रम भण्डारी