भोटेघोडा लोप हुँदा भोटेकुकुरको माग उच्च

भोटेघोडा लोप हुँदा भोटेकुकुरको माग उच्च


हिमाली तथा उच्च पहाडी क्षेत्रमा प्रयोगमा आउने भोटे घोडा लोप हुन थालेपछि उदयपुरको कटारीस्थित कमलानदी त्रिवेणी मेलामा कारोबारकै चोला बदलिएको छ । भोटेघोडाको किनबेच नभएकाले यसपटक भोटे कुकुरको कारोबार बढेको पाइएको छ ।

यही माघ १ गतेदेखि सञ्चालन भई आज सम्पन्न हुन लागेको त्रिवेणी मेलामा अहिलेसम्म सबैभन्दा बढी भोटे कुकुरको किनबेच भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अध्यक्ष नरबहादुर तामाङका अनुसार विगतका वर्षमा सोलुखुम्बु र ओखलढुंगाको रुम्जाटार क्षेत्रबाट झारिने भोटेघोडाको किनबेच धेरै हुने गरे पनि अहिले तिनको प्रयोग र प्रचलन घट्दै गएकाले मेलामा पनि भोटेघोडाको किनबेच ठप्प हुन पुगेको छ । अहिले सोलुखुम्बु र ओखलढुंगाबाट खरिद गरेर झारिएका भोटेकुकुर र तिनका छाउरासमेतको किनबेच बढेको हो ।

मेला व्यवस्थापन समितिका सदस्य केदार धमलाका अनुसार एउटा भोटे कुकुरको मूल्य आठदेखि १० हजारसम्म पुगेको छ भने छाउरा समेत तीन हजारसम्ममा बिक्री भइरहेका छन् । सोलुको हिमाली क्षेत्रबाट झारिएका भोटेकुकुर अहिले तराईको धनुषा, सप्तरी, सिरहा, महोत्तरीसहित भारतको बिहारसम्मका ग्राहकले किनेर लगेका छन् । माघको ३ गतेदेखि हालसम्ममा झण्डै चार लाखसम्मको भोटेकुकुरको कारोबार भएको व्यवस्थापन समितिले जनाएको छ ।

त्रिवेणी मेलामा हिमाली भोटेकुकुरको कारोबार ह्वात्तै बढेपछि हिमाली सोलु र ओखलढुंगा क्षेत्रबाट थुप्रै भोटेकुकुर मेलामा कारोबारका लागि ल्याउने कार्यसमेत भइरहेको छ । माघ १ गते देखि शुरु भएको पन्ध्र दिने मेलामा अहिलेसम्म झण्डै दुई करोडको कारोबार भइसकेको र सात लाखभन्दा बढीले त्रिवेणी धामको दर्शन गरेको बताइएको छ ।