बलात्कारपछि दाइले गरे बहिनीको हत्या

बलात्कारपछि दाइले गरे बहिनीको हत्या


खोटाङस्थित चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी बालिका राई गत १० गते राति खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी थिइन् ।

प्रहरी अनुसन्धानपछि मृतक बालिकालाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टि भएको छ । घटनालगत्तै पक्राउ परेका राईको बयान, घटनाको प्रकृति र शव परीक्षण गर्दा जबर्जस्ती करणी गरेको पुष्टि भएको हो । बलात्कारीबिरुद्ध हाडनाता करणी र कर्तव्य ज्यानसम्बन्धी महलअन्तर्गत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ ।

पक्राउ परेका जीउधन र मारिएकी लुमणी नाताले दाजुबहिनी भएका र बाबुआमाविहीन जीउधनले यसअघि पनि गाउँमा जाँडरक्सी खाएर अर्काको बिगार गर्दै हिँड्ने गरेको स्थानीयले जनाएका छन् ।