एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०/३० कै हाराहारीमा समायोजन हुने एमाले नेताले दाबी गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यस्तो बताएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०/४० को भागबन्डा गरे पनि चुनावको परिणामले दुई पार्टीलाई ७०/३० को अनुपातमा लगेको तर्क गर्दै नेता पाण्डेले प्रदेशमा ७०/३० को भागबन्डा गरिएको जानकारी दिए । राष्ट्रियसभा र प्रदेशको सिट बाँडफाँड ७०/३० प्रतिशतको आधारमा गरिएको दोहोर्याउँदै उनले पार्टी एकीकरण र संघीय सरकार पनि त्यसै अनुपातमा हुनसक्ने बताए ।
एमालेलाई ६० देखि ७० प्रतिशत र माओवादी केन्द्रलाई ३० देखि ४० मा घटीबढी नहुने गरी पार्टी र सरकारको भागबन्डा मिलाइने भन्नेमा सहमति बन्दै गएको उनको भनाई छ । पार्टी एकीकरण भन्दा पहिला नै सरकार गठन हुने खुलासा पनि पाण्डेले गरे ।
बाहिर हल्ला चलेजस्तो एकीकरणमा समस्या नरहेको भन्दै पार्टी एकीकरण पनि सहज रुपमा हुने दाबी उनले गरे । पूर्वअर्थमन्त्रीसमेत रहेका नेता पाण्डेले सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने खालका निर्णय गर्नु लोकतान्त्रिक पद्धतिविपरीत भएको आरोप लगाए । प्रदेश नम्बर ३ को आर्थिक राजधानी चितवन बन्न कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएर उनले चितवनवासीलाई प्रशन्न पार्ने प्रयत्न गरेका थिए ।
प्रतिक्रिया