माघ २४ सम्म देशबाहिर नजान एमालेको निर्देशन

माघ २४ सम्म देशबाहिर नजान एमालेको निर्देशन


राष्ट्रियसभा निर्वाचनमा मतदाता रहेका निर्वाचन मण्डलका सदस्यहरु तथा पार्टीको तर्फबाट निर्वाचित सबैलाई निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान नेकपा (एमाले) स्थायी कमिटीको बैठकले निर्देशन जारी गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा बसेको बैठकले निर्वाचन मण्डलका सदस्यहरु, पार्टीका तर्फबाट निर्वाचित सदस्यहरु, प्रदेशसभा सदस्य, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाका प्रमुख, उपप्रमुख गाउँपालिका अध्यक्ष, र उपाध्यक्षहरू राष्ट्रियसभाको निर्वाचन सम्पन्न नभएसम्म देश बाहिर र प्रदेश बाहिर नजान निर्देशन दिएको हो । उल्लिखित ओहदाका व्यक्तिहरु राष्ट्रिय सभा निर्वाचनका मतदाता हुन् ।

बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचनमा प्रयोग हुने एकल संक्रमणीय निर्वाचन प्रणालीका सम्बन्धमा सम्पूर्ण मतदातालाई अनिवार्य रुपमा मतदानसम्बन्धी तालीम दिन जरुरी भएको ठान्दै प्रदेश संगठन कमिटीका संयोजकबाट केन्द्रीय निर्वाचन विभागसँंग समन्वय गरी प्रशिक्षणको व्यवस्था गर्ने निर्णय गरेको छ । त्यसका लागि माघ २१ गते राति १२ बजेदेखि मौन अवधि शुरु हुनुअगावै प्रशिक्षणको व्यवस्था गरिने भएको छ ।

राष्ट्रियसभाका लागि तय भएका एमाले र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवारहरूलाई विजयी बनाउन पारस्परिक सल्लाहका आधारमा दुवै पार्टीको तर्फबाट संयुक्त रुपमा प्रचारप्रसार, मतदाता शिक्षा, व्यवस्थापनलगायतका कार्य गर्नेसमेत बैठकले निर्णय गरेको छ । यस सन्दर्भमा नेपाली कांग्रेसले चाहिँ खासै तयारी गरेको पाइएको छैन ।

एमाले स्थायी समितिको सोही बैठकले एमालेलगायतका ताजा जनादेश प्राप्त राजनीतिक दलहरू, सञ्चार जगत् र आमनागरिकको आलोचना र विरोधलाई बेवास्ता गर्दै कामचलाउ सरकारले गरेका राष्ट्रिय ढुकुटी दुरुपयोग, मनपरी नियुक्ति, सरुवा तथा बढुवाजस्ता स्वेच्छाचारी निर्णयको भत्सर्ना गरेको छ ।