फेरि द्वन्द्व निम्त्याउँदै माओवादी

फेरि द्वन्द्व निम्त्याउँदै माओवादी


—श्रीधर शर्मा
आफूलाई मुलुकको सबैभन्दा ठूलो दल भन्ने माओवादी पछिल्ला दिनमा अन्य दलप्रति असहिष्णु र मुलुक र जनताप्रति गैरजिम्मेवार बन्दै गएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा साउन २५ मा बसेको सत्ताधारी र सत्तानजिकका दलको बैठकले गठबन्धनको निर्माण गर्नु यसैको उदाहरण हो । नेपाली काङ्ग्रेस र नेकपा एमालेले विभिन्न २७ दलको ‘लोकतान्त्रिक गठबन्धन’ यसअघि नै गठन गरेका थिए । सत्ताधारी दलले सोही गठबन्धनलाई चुनौती दिन ‘सङ्घीय लोकतान्त्रिक गठबन्धन’ गरेका हुन् ।
सत्ताबाहिरका दलले सत्तापक्षको विरोधका लागि परस्पर मिली गठबन्धन बनाउनु अस्वाभाविक होइन । अझ व्यवस्थापिका नै नभएको बेला सत्ताधारीहरूलाई सचेत गराउनका लागि सत्ताबाहिरका दलले गठबन्धन बनाउनु अत्यन्त उचित एवम् देश र जनताप्रतिको जिम्मेवारीबोध नै हो । तर, सत्ताधारीहरूले आफ्नो बचाउ गर्न गठबन्धन बनाउनु आश्चर्यको विषय हो । फेरि विचार र सिद्धान्त मिल्ने दलहरूबीचको गठबन्धन एउटा शक्ति बन्नसक्छ भने भिन्न विचारका दलहरू केवल सत्तामै भएको कारण गठबन्धन बनाउँछन् भने त्यो सत्तामा टिक्ने वा सत्ता लम्ब्याउने मनसायले मात्र गठन भएको ठान्नुपर्ने हुन्छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले यस्तो गठबन्धन ‘पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माणका लागि मोर्चा बनाउन लागिएको’ स्पष्टीकरण दिएका छन् । सङ्घीयता, समावेशी लोकतन्त्र र गणतन्त्रवादीहरू गठबन्धनमा रहने बताइएको छ ।
दाहालले ‘पाँचबुँदे सहमतिको आधार सकिएको’ बताएका छन् । उनले नेपाली काङ्ग्रेसको नेतृत्वमा सरकार स्वीकार गर्न नसकिने बताएका छन् भने उनले पहिचानसहितको सङ्घीयतामा सहमति नभएसम्म सरकार नछाड्ने पनि बताएका छन् । यसले गठन जसरी भए पनि दाहाल नेतृत्वको आज औपचारिक रूपमा घोषणा हुने भनिएको गठबन्धन र यो अभिव्यक्तिबीच कहीँ न कहीँ सम्बन्ध छ भन्नेचाहिँ अनुमान गर्न कठिन छैन ।
दाहालले ‘विगतमा सरकार छोडेर गल्ती गरेको’ भन्दै त्यो गल्ती माओवादीले अब नगर्ने र सत्ता सजिलै पाउने चिज नभएको पनि बताएका छन् । यसो भनिरहँदा उनले नभए त्यसको छिनोफानो सङ्घर्षले नै गर्ने पनि बताएका छन् । यसका लागि आफूहरू सरकारबाट लड्ने र कार्यकर्तालाई सडकको मोर्चाबाट लड्न पनि उनले आह्वान गरेका छन् ।
प्रधानमन्त्री बाबुराम भट्टराई कहिले ‘भूतले खाजा खाने बेलामा सरकारमा आइयो’ भनेका छन्, कहिले ‘सरकार छाडेसरह छ’ भनेका छन्, कहिले ‘सरकार छाड्ने कुरै छैन’ भनिरहेका छन् । यस्तै सहमति खोज्ने काम आफ्नो नभई अरूकै भएको भन्ने उनी ‘समाजवादी क्रान्ति पूरा गर्न फेरि बल प्रयोग गर्नुपर्ने हुनसक्छ’ भन्ने अभिव्यक्ति दिएका छन् । देशलाई अन्योलमा छाड्न नहुने भएकाले मात्र आफू सत्तामा बसिरहेको पनि उनको भनाइ छ । तर, जे–जस्ता गतिविधि भएका छन् तिनले सत्तामा टिकिरहने लक्ष्य स्पष्ट गर्छन् ।
पछिल्ला दिनमा माओवादीबाट सत्ताबाहिर रहेका दलहरू नेपाली काङ्ग्रेस र एमालेलगायतलाई सङ्घीयताविरोधीको रूपमा चिनाउने प्रयत्न भइरहेको छ । यसै नियतका साथ ‘सरकारी गठबन्धन’ बनेको हो । एकातिर गठबन्धन बनाउने अनि अर्कोतिर ‘विपक्षीहरूले जति चिच्याए पनि सत्ता नछाड्ने’ बताउनु सकारात्मक सङ्केत होइन । सत्तारुढ माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमाले तथा मधेसवादी शक्तिहरूको सहमतिबिना न निर्वाचन सम्भव छ न संविधान निर्माण नै । सबैले यस किसिमका अभिव्यक्ति दिने र अर्काका प्रति आक्रोश पोख्नेमात्र काम गर्ने हो भने मुलुकले निकास पाउन सक्दैन । यस्ता अभिव्यक्तिले कार्यकर्ता तताउन त काम गर्ला तर सहमति र सहकार्यको वातावरण बताउन सहयोग पुग्दैन । द्वन्द्व र मुठभेड बढाउने काम मात्र गर्छ ।
माओवादीप्रति माओवादीबाहेक कसैको विश्वास छैन । अहिले सत्तामा बस्नेहरू आफ्ना स्वार्थ पूरा गर्न पाएकाले मात्र उसको सहयात्री बनेका हुन् । माओवादीको नियत मुलुकमा शान्ति सुव्यवस्था होइन राष्ट्रवादको नाममा राष्ट्रघात र सर्वत्र शून्यता सिर्जना गरेर सर्वसत्तावाद लाद्ने नै हो भन्ने धेरैको ठम्याइ छ । अराजकता फैलाउनु नै क्रान्ति पूरा हुनु हो भने भिन्नै कुरा हो, होइन भने सहमति खोजिएको बेला प्रमुख विपक्षी दलहरूप्रतिको लाञ्छना र आक्रोश अनि गठबन्धनले मुलुकले निकास पाउन सक्दैन ।
खासगरी दाहालकै कारण अन्तिम समयमा आएर जातीय समूहहरू सक्रिय भएका र संविधान निर्माणको काम अन्तिम घडीमा आएर अवरुद्ध भएको थियो । सबैसँग ठिक्क हुने अर्थात् ‘गंगा आए गंगाराम, जमुना आए जमुनादास’को दाहाल शैली नै मुलुकले निकास पाउन नसक्नुको प्रमुख कारक हो । उनको दोहोरो चरित्र नै विद्यमान अन्योलको कारक हो । उनको महत्वाकाङ्क्षाले मुलुकलाई अघि बढ्नबाट रोकिरहेको छ र उनैले यसको निकास खोज्नुपर्छ ।
यतिन्जेलका सहयात्रीलाई ‘सङ्घीयताविरोधी’को बिल्ला लगाइदिएर कस्तो सङ्घीयतासहितको संविधान बन्ला सोचनीय विषय हो । हिजोका अनुचित, अस्वाभाविक आश्वासन नै आज निकासका बाधक भएका छन् । विगतका गल्ती, कमजोरी स्वीकार गरी तिनलाई सच्याउँदै यथार्थको धरातलमा आउनुको साटो आफ्ना कमजोरी लुकाउन, छिपाउन र आफ्ना गल्तीको दोष अरूमाथि थोपर्न उद्यत् रहने चरित्र कायम रहेसम्म जस्तोसुकै गठबन्धन बने पनि मुलुकले निकास पाउन सक्दैन । यदि माओवादीको यही रवैया हो भने भन्नुपर्ने हुन्छ माओवादी पुन: मुलुकमा द्वन्द्व निम्त्याउन उद्यत् छ ।
यदि मुलुकलाई निकास दिने हो भने कसैले पनि गठबन्धन निर्माणलाई प्रोत्साहन गर्नु वा नयाँ–नयाँ दल र समूह खोल्न कसैलाई उक्साउनुहुँदैन । यस्तै कुनै पक्ष, समूह वा दललाई किनारा लगाउने वा कमजोर पार्ने सोच राखेर यस खालका क्रियाकलापमा समय खर्चनुहुँदैन । शान्ति र संविधान लक्ष्य हो र मुलुक र जनताप्रति जिम्मेवार हुने हो भने द्वन्द्व र भुठभेड बढाउने होइन सहमति र सहकार्यको वातावरण निर्माण गर्नुपर्छ, त्यसले मात्र मुलुकलाई निकास दिन सक्छ ।