देशको राजनीतिक स्थिति अन्योलपूर्ण रहेको मौका छोपेर राजस्व अनुसन्धान विभागका जिम्मेवार कर्मचारीहरूले ‘नगद सङ्ग्रह गर्ने’ अभियान चलाएका छन् । उनीहरूले मारवाडी समुदायका व्यापारीहरूलाई लक्षित गरेर चलाएको यस अभियानको सिकार तीन दर्जनभन्दा बढी मारवाडी व्यापारीहरूले हुनुपरेको छ ।
काठमाडौंको नयाँ सडक तथा अन्य केही व्यापारिक केन्द्रहरूमा बसेर व्यापार गर्दै आएका मारवाडीका गोदाममा बारम्बार छापा मारी खरिद तथा बिक्री खाता, विजक बिल, स्टक बुक र कम्प्युटरलगायतका सामान कब्जामा लिने र उनीहरूसँग ‘बार्गेनिङ’ गर्ने काम राजस्व अनुसन्धानसम्बद्ध कर्मचारीहरूले गरिरहेका छन् । राजस्व अनुसन्धान विभागमा महानिर्देशक रहँदा भरत सुवेदी नामक कर्मचारीले शुरु गरेको यस धन्दालाई निर्मलहरि अधिकारी महानिर्देशक रहेका बेला ‘संस्थागत’ गरिएको बताइन्छ ।
व्यापारीको पहिचान गरी बार्गेनिङ गर्ने मामिलामा सबैभन्दा ‘सक्षम’ मानिएका अनुसन्धान अधिकृत उद्धव राउत भरत सुवेदीकै समयदेखि सोही कार्यालयमा कार्यरत छन् । राजस्व अनुसन्धान विभागमा महानिर्देशक बनेर जाने हरेकका लागि यिनै राउत सर्वाधिक प्रिय हुन पुग्छन् । उद्धव राउतले प्रयोग गर्ने ९८५१०४३१०५ नम्बरको मोबाइलको ‘कल डिटेल’ लिँदा उनी व्यापारीहरूसँग दिनमा कति पटकसम्म सम्पर्क गर्छन् र कसरी ‘बार्गेनिङ’ गर्छन् भन्ने कुराको आधार प्राप्त गर्न सकिन्छ ।
अहिले मारवाडी व्यापारीलाई मुख्य रूपले लक्षित गरी चालिएको ‘बार्गेनिङ अभियान’लाई व्यवस्थित गर्न विभागमा पाँचवटा युनिट खडा गरिएको छ । व्यापारिक वस्तुका आधारमा उक्त युनिट खडा गरिएको बताइन्छ । तर, जुनसुकै युनिटसम्बद्ध व्यापारी भए पनि मोलमोलाइका लागि भने राउत नै खटिने गरेका छन् ।
यसरी राजस्व अनुसन्धान विभागले छापा मार्ने र ठूलो रकमका लागि बार्गेनिङ गरेपछि काठमाडौंको नयाँ सडक क्षेत्रका मारवाडी व्यापारीहरू आतङ्कित भएका छन् । कर्मचारीको व्यापारबाट आतङ्कित भएका मारवाडी व्यापारीमध्ये दुईजनालाई हृदयाघातसमेत भएको छ । व्यापारीको हैसियतभन्दा ठूलो रकम माग गर्ने र रकम नदिए झनै ठूलो रकम राजस्वबापत तिराउने भएपछि व्यापारीहरूमा आतङ्क मच्चिएको हो ।
औद्योगिक उत्पादनका लागि आवश्यक कच्चा पदार्थका आयातकर्ता, हीरामोति र सुनचाँदी व्यवसायी, खाद्यान्न तथा लत्ताकपडालगायत दैनिक उपभोगका अन्य सामग्रीहरूको व्यापार गर्ने मारवाडीहरूको सूची तयार गरेर छापा मार्ने र बार्गेनिङ गर्ने काम भएकोले सम्बन्धित व्यापारीहरूको भागदौड शुरु भएको छ । यसरी कर्मचारीहरूले राजस्व उठाउने नाममा बार्गेनिङ गर्ने र व्यापारीहरूलाई सताउने काम गर्दा पनि अर्थ मन्त्रालय भने तमासे बनेर बसिरहेको छ ।
प्रतिक्रिया