ओलीको आग्रहपछि स्वराजको भ्रमण

ओलीको आग्रहपछि स्वराजको भ्रमण


एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रहपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण तय भएको समाचार प्राप्त भएको छ । गत साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी कुराकानी गर्ने क्रममा मोदीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रूपमा नयाँदिल्लीमा स्वागत गर्न आतुर रहेको बताउनुभएको र प्रतिक्रिया व्यक्त गर्दै ओलीले पनि मोदीलाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभएको थियो । त्यसक्रममा ओलीले मुक्तिनाथलगायतका धार्मिक स्थलहरूको भ्रमण गराइने पनि बताउनुभएको थियो ।

कुराकानीकै क्रममा ओलीले उच्च भ्रमणको आदानप्रदान हुनुअघि राजनीतिक तहमा केही कुराकानी हुन आवश्यक रहेको बताउँदै त्यसनिम्ति जिम्मेवार व्यक्तिको भ्रमण उपयुक्त हुने धारणा मोदीसमक्ष प्रकट गर्नुभएको थियो । ओलीको आशय स्पष्ट भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छाअनुरूप माघ १८ गतेका लागि विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण तय भएको बुझिएको छ । भारत र नेकपा एमालेको नेतृत्वबीच उत्पन्न शङ्का र अविश्वासको स्थिति अन्त्य गर्न स्वराजको भ्रमणले योगदान पुऱ्याउने विश्वास गरिएको छ ।