जेल सजायको दायरामा करण

जेल सजायको दायरामा करण


दिल्ली सरकारले बलिउड फिल्म निर्देशक करण जौहरलाई नोटिस जारी गरेको छ । बेलाबेलामा कानुनी झमेलामा पर्दै आएका करण सो नोटिससँगै पुनः कानुनी विवादमा फसेका छन् । यदि करणले गैरकानुनी कार्य गरेको प्रमाणित भएमा उनलाई पाँच वर्षको जेल सजाय हुने भएको छ ।

‘नयाँ ट्यालेन्टको खोजी’अन्तर्गत राष्ट्रिय टेलिभिजनमा कार्यक्रम सञ्चालन गरिरहेका करणले उक्त रियालिटी शोको दौरान एक ‘पान मसला’को विज्ञापन देखाएका थिए । सो विज्ञापन गैरकानुनी भएको भन्दै दिल्ली सरकारले करणलाई कारबाहीका लागि नोटिस पठाएको हो । दिल्ली सरकारले नोटिस पठाएपछि अहिले करणको धर्मा प्रोडक्सन र उसको सहयोगी एन्डेमलमाथि कारबाही हुने देखिएको छ । धर्मा प्रोडक्सनको प्रमुख भएकाले दिल्लीको स्वास्थ्य विभागले कोट्पा एक्टअनुसार शो मेकर्सलाई नोटिस गरेको थियो ।

सुर्तीजन्य विज्ञापनकै कारण करण कानुनी विवादमा तानिएको यो दोस्रो घटना हो । यसभन्दा अघि करण फिल्म ‘इत्तेफाक’को पोस्टरमा धुम्रपानको प्रचार गरेपछि शाहरूख खान, गौरी खान र फिल्ममेकरलाई स्वास्थ्य विभागले नोटिस पठाएको थियो । स्वास्थ्य मन्त्रालयले पठाएको नोटिसमा करणलाई १० दिनभित्र जवाफ दिन भनिएको छ । करणले उक्त नोटिसको कस्तो जवाफ दिन्छन्, त्यसपछि मात्र मन्त्रालयले कारबाही अगाडि बढाउनेछ । यस सन्दर्भले निकै चर्चा पाए पनि अन्ततः कुनै छिद्र निकालेर करणलाई उन्मुक्ति दिइने अनुमान गरिएको छ ।