– किशोर बुढाथोकी/सिन्धुपाल्चोक
एकै गाउँका दुई सहकारीले संकलन गरेको आठ लाख भन्दा बढी लिटर दुध वर्षेनी राजधानी पुऱ्याइने गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका–४ स्थित कुविण्डेमा रहेको दुग्ध सहकारीले किसानबाट संकलन गरेको दुध राजधानी भित्र्याउने गरेको हो ।
कुविण्डेमा रहेको कुविण्डे दुग्ध उत्पादक सहकारी संस्था र जनसेवा दुग्ध सहकारी संस्थाले मात्रै किसानहरुबाट बार्षिक आठ लाख बढी दुध संकलन गर्छ । कुविण्डेसहित आसपासका तीन साविक गाविसका किसानबाट संकलित करिब आठ लाख तीन हजार दुध दैनिक रुपमा राजधानी लैजाने गरिएको हो ।
साविक कुविण्डे, बतासे, फुल्पिङकोट र फु्ल्पिङडाँडाका किसानले दुधबाट मात्रै चार करोड बढी रुपैयाँ गाउँ भित्र्याउँछन् । संस्थाद्वारा संकलित दुध राजधानीस्थित दुग्ध विकास आयोजनामा बिक्री गरिन्छ । ६ सय ९७ शेयर सदस्य रहेको कुविण्डे सहकारीले मात्रै दैनिक एक हजार पाँच सय लिटर दुध विक्री गर्छ । त्यस्तै जनसेवाले सात सय लिटरको हाराहारीमा दुध बेच्दा वार्षिक आठ लाख तीन हजार लिटर राजधानी पुग्ने गरेको हो ।
कुविण्डे सहकारीका अध्यक्ष टोपनाथ सापकोटाले दैनिक औसतमा एक हजार पाँच सय लिटर दुध आफ्नो संस्थाबाट राजधानी पुग्ने गरेको बताए । ‘ल्याक्टो र फ्याटको आधारमा प्रति लिटर ५० रुपैयाँसम्म पाइन्छ,’ उनले भने ।
२०४९ सालमा स्थापित यो सहकारीले दुध मात्रै बेच्ने नभएर बचत तथा ऋणकोसमेत व्यवस्था गरेको छ । ‘आफ्ना शेयर सदस्यहरुलाई उद्यमी बनाउने उद्धेश्यले युवा स्वरोजगार कोषको सहुलियत ऋणको व्यवस्था गरेका छौं,’ उनले भने, ‘अहिले हामीले तीन करोड २४ लाख भन्दा बढी रुपैयाँ सदस्यहरुलाई ऋण लगानी गरेका छौं ।’ कुविण्डेबाट जनसेवा सहकारीले पनि दुध काठमाण्डौंमा संक्लन गरि पढाउने जनसेवाका अध्यक्ष रोहित शर्माले बताए । ‘झण्डै सात सय लिटर दुध संकलन हुन्छ ।’ उनले भने । दुध ढुवानीका लागि दुग्ध विकास आयोजनाको सवारी हरेक दिन गाउँ आइपुग्छ ।
प्रतिक्रिया