ओली र प्रचण्ड एक-अर्काप्रति सशङ्कित

ओली र प्रचण्ड एक-अर्काप्रति सशङ्कित


राष्ट्रिय सभा निर्वाचनमा तालमेल र प्रदेश मुख्यमन्त्री तथा सभाध्यक्षहरूको भागबन्डा गर्ने कार्य सहजै सम्पन्न भए पनि नेकपा एमाले र माओवादीबीच पार्टी एकताको टुङ्गो अझै लागिसकेको छैन । एमालेले सरकार गठनलाई प्राथमिकतामा राखेको छ भने माओवादीले सरकार गठनभन्दा पहिले नै पार्टी एकता हुनुपर्ने धारणा सार्वजनिक गर्दै आएको छ ।

यसै साता चितवनमा आयोजित एक समारोहलाई सम्बोधन गर्ने क्रममा पनि प्रचण्डले सरकार गठनभन्दा पहिले पार्टी एकता हुनुपर्ने विचार प्रकट गरेका थिए । प्रचण्डको सार्वजनिक अभिव्यक्तिले अहिलेसम्म पार्टी एकताले आकार नलिइसकेको स्पष्ट सङ्केत दिएको छ भने पार्टी एकता नभएको अवस्थामा केपी ओलीलाई प्रधानमन्त्री बनाउन सहयोग नगर्ने भनक पनि मिलेको छ । ज्ञातव्य छ, प्रचण्डलाई पाँच वर्षसम्म प्रधानमन्त्रीमा समर्थन गर्ने वचन काङ्ग्रेसलगायत विभिन्न शक्तिकेन्द्रहरूले दिएका छन् ।

माधव नेपाल र प्रचण्डबीचको मित्रताले ओली र उनका निकटवर्तीलाई नराम्रोसँग झस्काएको छ । यसअघि गत असोजमा पार्टी एकता गर्ने घोषणा हुनुअघि केपी ओलीले प्रचण्डसँग भएका गुप्त वार्तालापबारे माधव नेपाललगायतका नेताहरूलाई सुइँकोसम्म दिएका थिएनन् । ओलीले गोप्य राखेको भए पनि दुई नेताबीच भएको संवादको पूर्ण जानकारी माधव नेपालले प्रचण्डबाट पाउँदै आएका थिए ।

एमालेको पार्टी अध्यक्ष बन्न नपाएको अवस्थामा प्रचण्ड काङ्ग्रेस र समथर भूमिकेन्द्रित समूहहरूसँग मिलेर प्रधानमन्त्री बन्ने मानसिकतामा भएकोले उनी सरकार गठनभन्दा पहिले नै पार्टी एकतासम्बन्धी टुङ्गो लगाउन चाहन्छन् । तर, एमाले अध्यक्ष केपी शर्मा ओली र उनका हितैषीहरू अहिलेसम्म प्रचण्डलाई एमालेको एकलौटि नेतृत्व सुम्पने पक्षमा छैनन् ।

प्रारम्भिक दिनहरूमा ओली प्रचण्डलाई अध्यक्ष पद हस्तान्तरण गर्ने मानसिकतामा थिए । ईश्वर पोखरेललगायत दोस्रो पुस्ताका नेताहरूको प्रचण्डलाई एकलौटि अध्यक्ष पद नछोड्न दबाब परेको र वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल तथा वामदेव गौतम प्रचण्डलाई अध्यक्ष बनाउन हतारिएका कारण ओलीले मानसिकता परिवर्तन गरेको बताइन्छ ।

माधव नेपाल र प्रचण्डबीचको मित्रताले ओली र उनका निकटवर्तीलाई नराम्रोसँग झस्काएको छ । यसअघि गत असोजमा पार्टी एकता गर्ने घोषणा हुनुअघि केपी ओलीले प्रचण्डसँग भएका गुप्त वार्तालापबारे माधव नेपाललगायतका नेताहरूलाई सुइँकोसम्म दिएका थिएनन् । कैयन दिनदेखि दुई नेताबीच वार्तालाप चलिरहेको थियो, तर ओलीले आफ्नो खास हितैषीबाहेक अरू कसैलाई कुनै जानकारी गराएका थिएनन् । यसरी ओलीले गोप्य राखेको भए पनि दुई नेताबीच भएको संवादको पूर्ण जानकारी माधव नेपालले प्रचण्डबाट पाउँदै आएका थिए । बैठकको समय र बैठकमा भएका छलफलबारे प्रचण्डले माधव नेपाललाई विस्तृत रूपमा जानकारी गराउने गरेका थिए ।

असोज १७ गते चुनावी तालमेलसहित पार्टी एकताको घोषणा गर्नुअघि आयोजित एमाले बैठकमा ओलीले एकतासम्बन्धी प्रस्ताव गर्दा माधव नेपाललगायतबाट सहमति या आपत्ति प्रकट हुने हो कि भन्ने आशङ्का गरेका थिए । तर, उनको आशङ्का र अनुमानविपरीत माधव नेपालले एकता प्रस्तावलाई उत्साहित भएर समर्थन गरेका थिए । त्यसयता माधव, झलनाथ र वामदेवलगायतले प्रचण्डलाई अध्यक्ष पद दिएर एकता गर्न ओलीलाई दबाब दिँदै आएका छन् ।

उनीहरूको यस्तो दबाब नै अन्ततः प्रचण्डलाई एकलौटि अध्यक्ष पद नदिने कारण बन्ने सम्भावना छ । एकलौटि अध्यक्ष नदिए पनि ओली प्रचण्डलाई सहअध्यक्ष या कार्यबाहक अध्यक्ष दिने योजनामा भने रहेको बुझिन्छ । त्यसैले सामान्य अवस्थामा ओलीबाट प्रचण्डलाई एकलौटि पार्टी प्रमुख पद हस्तान्तरण हुन सम्भव देखिएको छैन । तर, केपी ओलीको अत्यन्तै अप्ठ्यारो अवस्था नपरेसम्म अडान लिने र अन्तिम अवस्थामा मात्र अडान छोड्ने केपी ओलीको विशेषता भएकोले अन्त्यमा ओली अध्यक्ष पद छोड्न तयार हुने विश्वास एमालेभित्रको अर्को पक्षले गरेको छ ।

पार्टी एकतामा दुवै पार्टीको भन्दा नेताहरू केपी ओली र प्रचण्डको भूमिका नै निर्णायक हुने देखिएको छ । दुई नेताबीच भएको सहमतिलाई कसैले अस्वीकार गर्ने सम्भावना छैन । दुई नेताबीच सहमति बन्दा दोस्रो र तेस्रो पुस्ताका नेताहरूको व्यवस्थापन पनि गर्नुपर्ने हुन्छ ।

प्रचण्डले सरकार गठनभन्दा पहिले पार्टी एकता गर्नुपर्ने अडान लिँदै आएको भए पनि पहिले सरकार नै गठन हुने अवस्था छ । सरकार गठन भइसकेपछि पार्टी एकता हुने–नहुने र एकता भए पनि दिगो हुने–नहुनेचाहिँ भन्न सकिने स्थिति छैन ।