ऐश्वर्य लिएर सिड्नी आइपुगे रमेश

ऐश्वर्य लिएर सिड्नी आइपुगे रमेश


राजन घिमिरे/सिड्नी

यतिबेलाको हिट नेपाली चलचित्र एेश्वर्य अब अष्ट्रेलियामा रहनुभएका नेपालीमाझ प्रदर्शन हुने भएको छ । यसअघि नेपाल, बेलायत र अमेरिकामा प्रदर्शित भई प्रशंसा कमाएको यो चलचित्र लिएर यसका निर्माता एवम् अभिनेता रमेश उप्रेती बुधबार राती सिड्नी आइपुगेका छन् ।

‘नेपाल लगायत अन्य देशमा जस्तै अष्ट्रेलियामा रहनु भएका नेपालीहरूबाट पनि साथ र माया पाउने बिश्वास लिएको छु’- सिड्नी झर्नासाथ रमेशको प्रतिक्रिया थियो । पहिलोपटक अष्ट्रेलिया आएका रमेश निकै उत्साहित देखिन्थे ।

लामो समय अमेरिका बसाईपछि रमेश पुनः चलचित्र निर्माण र अभिनयमा फर्किएका हुन् । दुई चलचित्र रगत र करोडपतिमा नेगेटिभ भूमिकामा देखिएपछि उनी पराईघर मार्फत नायकको रूपमा स्थापित भएका थिए ।

चलचित्र ऐश्वर्यलाई अष्ट्रेलिया ल्याएका किरण अधिकारीले चलचित्रको बरूणमा रहेको इभेन्ट सिनेमामा आइतबार हुने पहिलो शोको टिकट सोल्ड आउट भएपछि पुनः अर्को शो थपिएको जानकारी दिए । ‘यो चलचित्र हेर्ने चाहने दर्शकहरूको संख्या बढेको छ । त्यसकारण पनि हामी निकै हौसिएका छौँ’, उनले भने ।

यस्तै, चलचित्र ऐश्वर्यलाई अष्ट्रेलियामा रहनुभएका नेपालीमाझ लिएर आउने आफ्नो योजना सफल भएकोमा आयोजक सुरज तुलाचन र विपिन थापाले प्रसन्न्ता ब्यक्त गरे । ‘राम्रो चलचित्रलाई नायकका साथ हेर्न आतुर देखिनुभएको छ’, उनीहरूले भने ।

प्रेम कथामाथि आधारित यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन भने अर्जुन श्रेष्ठ र निर्मल शर्मा निर्माताको रूपमा रहेका छन् । रमेशको अलवा चलचित्रमा प्रशान्त ताम्राकार, केकी अधिकारी, अर्जुन श्रेष्ठ, निर्मल शर्मा र बिकाश खतिवडाको मुख्य भूमिका रहेको छ ।

यसै चलचित्रमार्फत नायिकाको रूपमा दीपिका प्रसाईको नेपाली चलचित्र क्षेत्रमा प्रवेश भएको थियो । अर्जुन पोखरेलले संगीत दिएको ‘तिमी रोएको पल…’ बोलको यो चलचित्रको गीत चर्चित छ ।