नेपाली सेनाको सहयोगमा गाउँमै खानेपानी आयोजना

नेपाली सेनाको सहयोगमा गाउँमै खानेपानी आयोजना


नेपाली सेनाको सहयोगमा सल्यानको बागचौर नगरपालिकास्थित दुबेरीचौरका स्थानीयले शुद्ध पिउने पानी पाएका छन् । सल्यानस्थित नेपाली सेनाको भगवती दल गुल्मले गाउँमै पानी ल्याइदिए पछि स्थानीयहरु खुशी भएका हुन् ।

यसअघि खानेपानी जाहो गर्न हैरानी खेपेका दुबेरीचौरवासीले गाउँमै पिउने पानी पाएपछि नेपाली सेनालाई धन्यवाद मात्रै दिएका छैनन् उािनहरुलाई भगवानसरह मानेका छन । हाल नेपाली सेनाको सहयोगमा दुबेरीचौरवासीको घर–घरमा खानेपानी पुगेको छ ।

दुबेरीचौरवासीले खानेपानी जोहोकै लागि लामो समयदेखि अनेक दुःख भोग्नु परेको थियो । हालै मात्र दुवेरीचौरका २६ घरका परिवारका लागि ट्यांकी र धारा बनेको छ । खानेपानीको व्यवस्था गर्न नेपाली सेनाको भगवती दल गुल्मका सेनाले २ लाख नगद सहित श्रम गरेका थिए । बागचौर नगरपालिकाले पनि एकलाख सहयोग गरेको स्थानीयको भनाई छ । आफ्नो गाउँमा खानेपानी ल्याउन स्थानीयवासीले पनि राम्रै श्रमदान गरेको बताइएको छ ।

नेपाली सेनाले देशका विभिन्न स्थानमा बिकास निर्माणको काम गर्दै आएको छ । केहि राष्ट्रिय गौरवका आयोजना समेत नेपाली सेनाले सम्हालेको छ । उत्तिकै मात्रामा स्थानीय स्तरमा समेत सेनाले काम गर्दै आएको छ । देशको मुख्य सुरक्षा अंग स्थानीयसँगको सहकार्यमा विकास निर्माणको काममा संलग्न हुँदा स्थानीय त खुशी हुने नै भए । स्वयम नेपाली सेना समेत बिकासमा स्थानीयसँग सहकार्य गर्न पाउँदा खुशी छन् । स्थानीयवासीको समस्या समाधानमा सहयोगी बन्न पाउँदा ऊर्जा मिल्ले भगवती दल गुल्मका गुल्मपती बिदुर अधिकारी बताउँछन् ।

बिकास निर्माणको काम निश्चित कुनै व्यक्तिको चाहनाले मात्र सम्भव छैन । सबैको मन मिले स्थानीय स्तरमा बिकास सम्भव छ । स्थानीयस्तरको बिकास निर्माणमा नेपाली सेना पनि सहयोगी बन्दै आएको छ । यसले नेपाली सेना र आम नागरिकको दुरी समेत घटाएको छ ।