लाखौँ ठगेर म्यानपावर सञ्चालकहरु सम्पर्कविहीन

लाखौँ ठगेर म्यानपावर सञ्चालकहरु सम्पर्कविहीन


वैदेशिक रोजगारका नाममा कयौँ यूवासँग लाखौँ ठगेर बसुन्धरास्थित डाइनामिक ग्लोबल एचआरका सञ्चालकहरु सम्पर्कविहीन भएका छन् । कर्मचारीका भरमा कार्यालय खुलेता पनि सञ्चालकहरु भने त्यहाँ देखिँदैनन् । उनीहरुले बाहिरैबाट आफ्नो धन्दा जारी राख्ने गरेका बुझिएको छ ।

कसैलाई यूरोपको पोल्याण्ड, कसैलाई खाडी मुलुकमा पठाउने भन्दै डाइनामिक ग्लोबल एचआरका सञ्चालकले मोटो रकम असुलेका हुन् । कतिपय युवालाई अवैध रुपमा आवुधावी, दुबई उडाएर त्यहाँ काम नपाएर फर्केपछि क्षतिपूर्ति तिर्नुको सट्टा सञ्चालकहरु सम्पर्कविहीन भएका हुन् भने कतिपयलाई यूरोपको पोल्याण्ड उडाउने भनेर पनि रकम असुली गरिरहेको पीडितले बताएका छन् ।

खासगरी ध्रुव भन्ने पूर्णप्रसाद गौतम, दिलिप गौतम र तुलसी गौतम डाइनामिक ग्लोबल एचआरका पुराना सञ्चालक हुन् । तर, वसुन्धरास्थित कार्यालयमा उनीहरुको मुख देख्न सकिन्न । लामो समयदेखि सम्पर्कविहीन भएका उनीहरु कहाँ छन् ? के गर्दैछन् भन्ने पीडितले पत्तो लगाउन नसके पनि नयाँ नयाँ युवाहरु भने वैदेशिक रोजगारीका नाममा ठग्ने क्रम रोकिएको छैन ।

स्रोतका अनुसार ध्रुव गौतमले अर्काे मेनपावर प्रयोग गरेर अवैध रुपमा दुवईमा कामदार पठाउने धन्दा जारी राखेको छ भने दुवईमा काम नपाएर फर्केका पीडितहरु वैदेशिक रोजगार विभागमा उजुरी गर्न जाने क्रम पनि रोकिएको छैन । त्यसैगरी, दिलीप गौतमले पोल्याण्ड पठाउने भन्दै सोझासिधा युवासँग रकम असुलेर यतीबेला दिल्लीमा रहेको बताइन्छ ।

यतिबेला वैदेशिक रोजगार विभाग बाहेक प्रहरीको अपराध महाशाखामा मात्र नभएर अन्य विभिन्न यूनिटमा पनि ध्रुव गौतमका विरुद्ध कयौँले आफूहरु ठगीएको भन्दै उजुरी गरेका छन् । सबैभन्दा बढी बसुन्धारा–त्रिलिङाटार प्रहरी बिटमा धुर्ब विरुद्ध उजुरीको चाङ नै छन् । त्यहाँको प्रहरीले ३–४ पटक भन्दा बढी उपस्थित गराएर पीडितले प्रमाणसहित दाबी गरेको रकमको चेक कटाएको भएता पनि ती चेक आजपर्यन्त साटिएका छैनन् । वसुन्धरा–त्रिलिङटार चौकीले धुइँधुइँती खोजी गर्न थालेपछि त्यो क्षेत्रमा आउजाउ गर्न ध्रुवले छाडिसकेको र पछिल्लो समय अर्कै मेनपावरसँग भूमिगत शैलीमा सम्पर्कमा रहेको बताइन्छ । यताउति हिँडडुल गर्दा समेत पीडितले नचिनुन्, नदेखुन् भनेर मफलरले मुख छोपेर हिँड्ने गरेको उसलाई देख्नेहरु बताउँछन् ।

त्यसो त डाइनामिक ग्लोबल एचआरका अर्का सञ्चालक मच्छेन्द्र शेर्माले यूरोपियन मूलुक टर्कीमा टेक्सीचालक पठाउने भन्दै मोटो रकम असुलेर त्यहाँ पठाएकाहरु ध्माधम फर्केपछि त्यो समस्या पनि वर्षदिन पुगीसक्दासमेत सामाधान भइसकेको छैन । पीडितलाई असुलेको रकम फिर्ता गर्नु भन्दै वैदेशिक रोजगार विभागका भ्रष्ट कर्मचारीसँग मिलोमतो गरेर उनीहरुलाई खुसी पारेवापत आजपर्यन्त विभागमा परेको उजुरीबाट पनि सञ्चालक शेर्मा र डाइनामिक ग्लोबल एचआर नामको मेनपावर कम्पनीमा ताला लाग्न सकेको छैन । त्यसो त अर्का सञ्चालक पूर्ण लिम्बुको व्यवहार पनि विवादरहित छैन । उनले पठाएका कामदार पनि पीडामा छन्, कतिपय फर्केर आए पनि आफूले बुझाएको रकम पाइरहेका छैनन् ।

कुनै पनि मेनपावरको सञ्चालकले अलग अलग जिम्मेवारी लिने गरेता पनि लेखा शाखा एउटै हुन्छ । कार्यालयले राख्ने हिसाबकिताब एउटै हुन्छ तर, डाइनामिक ग्लोबल एचआरमा मच्छेन्द्र शेर्माको आफ्नै एकाउन्टेन्ट मार्फत कारोबार हुन्छ भने लिम्बु र गौतम बन्धुहरुका पनि आफ्ना आफ्ना लेखा शाखामा छुट्टाछुट्टै कारोबार राख्ने गर्छन्, यो अवैध शैली हो । त्यहाँ जाने पीडितले जोसँग कारोबार गरेको हो, उसैलाई खोजी गर्नु पर्ने अवस्था छ । वैदेशिक रोजगार विभाग त्यस बारेमा जानकार भए पनि उक्त मेनपावरलाई कारबाहीको दायरामा ल्याउन त के पीडितका उजुरी फरकफारक गर्न समेत अलमल र आलटाल गरेको बुझ्न गाह्रो छैन ।