नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको शान्ति र समृद्धिका लागि छिमेकीसँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताउनुभएको छ ।भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराजसँग विहिबार साँझ भएको भेटमा अध्यक्ष ओलीले आपसी हितका लागि प्राकृतिक स्रोतसाधनको उपयोग, सम्पर्क विस्तार, व्यापार, सूचना प्रविधिलगायत क्षेत्रमा भारतसँग सहकार्य गर्न आफू तयार रहेको बताउनुभएको हो ।
एमाले सचिव प्रदीप ज्ञवालीले दिनुभएको जानकारीअनुसार स्वराजसँगको भेटमा अध्यक्ष ओलीले भारतसँग घनिष्ठतापूर्वक काम गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । नेपालको लोकतान्त्रिकीकरणमा भारतले गरेको सहयोगप्रति आभार प्रकट गर्दै अब बन्ने नयाँ सरकार शान्ति र समृद्धिका निम्ति क्रियाशील रहने उहाँले बताउनुभयो ।
सो अवसरमा भारतीय विदेशमन्त्री स्वराजले नेपालमा हालै सफलतापूर्वक सम्पन्न भएको निर्वाचनका लागि नेपाली जनतालाई र निर्वाचनमा वाम गठबन्धनले प्राप्त गरेको सफलताका लागि बधाई दिनुभएको एमाले सचिव ज्ञवालीले जानकारी दिनुभयो ।
निर्वाचनबाट प्राप्त स्पष्ट जनादेशले नेपालमा शान्ति र स्थिरता कायम हुने विचार व्यक्त गर्दै विदेशमन्त्री स्वराजले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि निर्वाचनपछि नेपाल विकास र समृद्धिको दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको बताउनुभयो ।
अध्यक्ष ओली र विदेशमन्त्री स्वराजबीच शुरुमा एक्लाएक्लै करिब ४५ मिनेट भेटवार्ता भएको थियो भने त्यसपछि दुवै पक्षका प्रतिनिधिमण्डलबीच द्विपक्षीय भेटवार्ता भएको थियो ।
दुईदिने नेपाल भ्रमणका लागि विहीबार अपरान्ह काठमाडौं आइपुग्नुभएकी भारतीय विदेशमन्त्री स्वराजसँग राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले पनि भेटवार्ता गरेका छन् भने आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरी विदेशमन्त्री स्वराज स्वदेश फर्कने कार्यक्रम छ ।
तस्बिर रासस
प्रतिक्रिया