जोनको स्वास्थ्यमा सुधार, प्रअमाथि कारवाहीको माग

जोनको स्वास्थ्यमा सुधार, प्रअमाथि कारवाहीको माग


सात दिनसम्म फुलचोकीको जंगलमा हराएर फेलापरेका छात्र जोन तामाङका परिवारजन र आफन्तले उनी अध्ययनरत विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर ओलीको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै प्रधानाध्यापक ओलीमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।

स्कुलले घुमाउन लैजाँदा छलिएर जंगलमा हराएका किशोर जोन तामाङ बुधबार फुलचोकीको जंगलमा भेटिएका हुन् । उनी भेटिनुभन्दा केही दिन पहिले नै प्रहरीले प्रधानाध्यापकलाई तारिखमा छाडिसकेको छ । जोनका ठूलोबुबा दीपक राईले जोन भेटिएकाले आफूहरु खुशी भए पनि प्रअलाई कारबाही हुने÷नहुनेमा शंका रहेको बताएका छन् ।

उनको लापरबाही रहेकाले कारबाही हुनुपर्ने राईको तर्क छ । प्रअ विद्यार्थीको संरक्षक हुनुपर्नेमा उल्टो खतरा ठाउँमा पु¥याएको आरोप लगाउँदै उनले प्रअको लापरबाहीले गर्दा जोनले दुःख पाएका, जोन ठीक भएपछि घटनाका विस्तृत विवरण थाहा हुने र त्यसरी घुमाउन लैजानु नै गल्ती हो, सजाय हुनुपर्छ भन्ने तर्क अघिसारे ।

अभिभावक संघ नेपालका पूर्वअध्यक्ष सुप्रभात भण्डारी प्रअलाई उनले गरेको गल्तीको सजाय हुनुपर्ने बताउँदै खतरा हुने ठाउँमा एक्लै लामो गोरेटो बाटो हिँडाएर लैजानु नै गल्ती भएको जिकीर गरे । शिक्षा नियमावलीमा प्रअको गल्तीका कारण विद्यार्थीले दुःख पाउँदा के सजाय हुने भन्ने किटान छैन, भन्दै उनले भने– “जुनसुकै व्यवस्थाका आधारमा भए पनि उनलाई कारबाही हुनुपर्छ ।”

ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचाररत रहेका जोनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको बुझिएको छ । जोन अहिले सामान्य बोल्ने र खाने भएका र आमाबाहेक अरुलाई नभेटेका समाचार राससले सम्प्रेषण गरेको छ ।