सांसद, जग्गा व्यवसायी र केवुलकार सञ्चालकसँग यिनले मागे करोडौँ

सांसद, जग्गा व्यवसायी र केवुलकार सञ्चालकसँग यिनले मागे करोडौँ


संगठित रुपमा सांसद तथा विभिन्न व्यवसायीसँग जबर्जस्ती करोडाँै रकम माग गर्ने चार जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । उक्त समूहले प्रदेश नं ४ कास्कीका प्रदेशसभा सदस्य विन्दुकुमार थापा, जग्गा व्यवसायी कालु गुरुङ, बोधराज गिरी र मनकामना केवुलकारका सञ्चालक राजेशबाबु श्रेष्ठलाई पटक पटक मोबाइल र एसएमएस गरी करोडौँ रुपैयाँ माग गर्दै आएको र नदिएमा ज्यान मार्ने धम्की दिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

धम्की दिई फिरौती रकम माग गर्ने समूहका योजनाकार हाल पोखराको जरेवर बस्दै आएका स्याङ्जा टक्सारका नलबहादुर गुरुङ, पर्वत कुश्माका रामु सुवेदी एवम् स्याङ्जा फेदीखोलाका अमृत खड्का र शिव कार्कीलाई कास्की प्रहरीले सार्वजनिक गरेको छ ।

कास्कीका प्रहरी प्रमुख अशोक सिंहले दिनुभएको जानकारीअनुसार उनीहरूले ९८६५१६५५१२ नं को सिम प्रयोग गरी एसएसएममार्फत धम्क्याउने गरेका थिए । उक्त समूहले “मनोज पुनको समूह हाँै” भनी धम्की दिने गरेको र तीमध्येका सुवेदीले भारतीय नंबाट फिरौती रकम माग्ने गरेको बयानबाट खुलेको बताइएको छ ।

पटक पटक फोन गरी धम्क्याउने उक्त समूहका व्यक्तिलाई प्रहरीले यही माघ १५ र १६ गते पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले माघ १५ गते प्रदेशसभा सदस्य थापालाई तीन दिनको समय दिई रु दुई करोड रुपैयाँ दिन धम्कीपूर्ण सन्देश पठाएका थिए । सन्देश पठाइएको उक्त मोबाइल नंका बारेमा सिआइबीसँग समन्वय गरी सिडिआर झिकाएर अनुसन्धान गरी उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

तस्बिर रासस