सुरक्षित गर्भपतनले स्वास्थ्य समस्या घट्दै

सुरक्षित गर्भपतनले स्वास्थ्य समस्या घट्दै


सुरक्षित गर्भपतनका कारण महिलामा देखिने स्वास्थ्य समस्यामा कमी भएको छ ।

स्वास्थ्य सम्बन्धी चेतना वृद्धि र सुरक्षित गर्भपतन गराउनेको संख्या बढेसँगै स्वास्थ्य समस्यामा कमी आएको हो । झापा जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने बढेका छन् । जसका कारण महिलामा गर्भपतनपछि हुने अधिक रक्तस्राव, शारीरिक कमजोरी लगायतका स्वास्थ्य समस्यामा कमी हुन थालेको हो ।

असुरक्षित रुपमा गर्भपतन गराउदा महिलाको मृत्यु समेत हुने गरेकाले यस्को नियन्त्रणका लागि सरकारले निःशुल्क सुरक्षित गर्भपतन सेवा दिन थालेको कार्यालयका जनस्वास्थ्य अधिकृत मधुसुधन कोइरालाले बताउनुभयोे ।

चालु आर्थिक वर्षको साउनयता जिल्लाका एक हजार ५२१ जनाले सुरक्षित गर्भपतन गराएको उक्त कार्यालयका तथ्यांक सहायक तोयानाथ दाहालले जानकारी दिनुभयो । जसमध्ये ११३ महिलामा स्वास्थ्य समस्या देखिएकामा समाधान गरिएको दाहालले बताउनुभयो ।

आव ०७१/७२ मा तीन हजार ४३२ जनाले सुरक्षित गर्भपतन गराएका थिए । उनीहरुमध्ये ६७२ जनामा स्वास्थ्य समस्या देखिएको थियो । त्यसपछि आव ०७२/७३ मा चार हजार २०७ जनाले सुरक्षित गर्भपन गराएका थिए । जुन संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ८२५ ले बढी हो ।

त्यस्तै, आव ०७३/७४ मा पाँच हजार २१४ ले गर्भपतन सेवा लिएकामा ४०४ जनामा स्वास्थ्य समस्या देखिएको थियो ।

‘आठ हप्तासम्मको गर्भपतन गराउनसक्ने गरी निःशुल्क सेवा दिँदै आइएको छ’, कोइरालाले भन्नुभयो, “अहिले लुकीचोरी गर्भपतन गराउनुपर्ने अवस्था छैन, जसले गर्दा गर्भपतन गराउँदा हुनसक्ने सम्भावित जोखिमबाट समेत बच्न सकिन्छ ।”